कर्णाली हिंसाको चपेटामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्रीकृत मानसिकताका कारण कर्णाली आफैँ हिंसाको चपेटामा परेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र प्रतिबद्धता’ विषयक अन्तक्र्रियामा मुख्यमन्त्री शाहीले हिजोदेखि नै कर्णाली विभेदको चपेटामा परेको बताउनुभयो ।

मुलुकका अन्य भूभागमा भन्दा कर्णालीमा हिंसाका घटना बढी रहेको उहाँको भनाइ छ । “मानसिक, शारीरिक र आर्थिक रुपमा कमजोर हुँदा लैङ्गिक हिंसा बढेको छ”, उहाँले भन्नुभयो, “यसका लागि सोचमा परिवर्तन मुख्य कुरा हो, हरेक महिलामा हिम्मत राख्ने, आँट गर्ने बानीको पनि विकास हुनुपर्छ ।”

मुख्यमन्त्री शाहीले केन्द्रीकृत मानसिकताले गर्दा कर्णाली सबैभन्दा बढी विभेदको चपेटामा परेको बताउनुभयो । उहाँले हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रमहरु नै प्रभावहीन रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा कर्णाली सरकारका सामाजिक विकासमन्त्री दल रावलले लैङ्गिक हिंसा अन्त्यका लागि मन्त्रालयले छोरी बचत खाता, छोरीबुहारी छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले महिलालाई आत्मनिर्भर बनाउन सकेमात्र लैङ्गिक हिंसा अन्त्य गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले ठूला होटलहरुमा भेला तथा गोष्ठी गरेर मात्रै महिला हिंसा अन्त्य नहुने धारणा राख्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।





error: Content is protected !!