मह, मौरी अवलोकन गर्न विदेशी नागरिक जाजरकोटमा

जाजरकोट , जिल्लाको मह र मौरी अवलोकन गर्न विदेशी नागरिक नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन् । बिभिन्न प्रजातीका रैथाने मौरीहरुको बाँस स्थान र महको गुणस्तरतालाई अवलोकन गर्न बिदेशी नागरिक कल्पतमा पुगेका हुन् ।
रैथाने मौरी र महको अबलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का जाजरकोट नलगाड नगरपालिकाको कल्पतमा पुग्नुभएको हो । बेलायतमा सफल मौरी व्यवसाय स¬चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरी लगाएत गाउँका स्थानीयवासी सँग अन्तरक्रिया गरेका छन ।
मौरी बिज्ञ समेत रहेका रुडीले मौरी पालक किसानलाई दिनुपर्ने शिक्षा, मह र मौरीको निरीक्षण गर्ने प्रणालीको व्यवस्था तथा बिकास, मह काढ्ने तरिका, महमा रहेको पानीको मात्रालाई व्यवस्थापन गर्ने तरिका, मह खरिदको अभिलेखिकरण व्यवस्थापन, मह प्रशोधन विधि, मह भण्डारणमा तापक्रमको व्यवस्थापन, महमा एचएमएफ बढ्ने अबस्था र त्यसको मात्रा मिलाउने तरिका, मुल्य निर्धारण, मह लेवलिङ्ग गर्ने तरिकाका र रानी मौरी उत्पादन गर्ने तरिकाका बिषयमा किसानहरुसंग अन्तरक्रिया गनुभएको छ । विगत ३५ बर्ष देखि सफल मौरी व्यवसाय संचालन गरिरहेका रुडीले उत्पादन गरेको महले विश्व पुरस्कार जित्न सफल भएको बताईएको छ ।
मेलिफेरा प्रजातिको मौरी पालन उद्योग संचालन गरिरहेका ७३ बर्षिय लण्डनका नागरिक रुडीले कल्पतमा रैथाने सेराना, कठ्यौरी, पुतुका र भीर मौरीको बाँस स्थान र महको अवलोकन गरेका थिए । सेराना मौरीसंगै कठ्यौरी र पुतुका मौरीको उपयुक्त बास स्थान भएको पाली र कल्पतको पारस्थितिकीय प्रणाली सन्तुलित रहेको मौरी विज्ञ रुडीले बताउनुभयो । पाली, कल्पतको सेराना, कठ्यौरी, पुतुका र भीर मौरीको अवलोकन गर्न विश्वका पर्यटकहरु आउन सक्ने रुडीको भनाई रहेको छ । मौरीमैत्री वातावरण बनाई राख्न तथा बचाई राख्न कठ्यौरी, पुतुका र भीर मौरीको संरक्षणमा जोड दिनुपर्ने उहाँको भनाई रहेको थियो । रैथाने प्रजाति भित्र पर्ने सेराना मौरी पालन गरिरहेका पालि, कल्पतका किसानहरुले रानी मौरी उत्पादन गर्ने सिप सिक्ने ईच्छा राखेमा अर्कोपटक आफु नेपाल आएको समयमा कल्पतमै पुगेर तालिम दिन सकिने रुडीले बताउनुभयो ।
नगरपालिकाको आयोजनामा मौरी विज्ञ रुडी रेप्काले पाली कल्पतका अगुवा किसानहरुलाई रानी मौरी उत्पादन सम्बन्धिको तालिम दिने व्यवस्था मिलाउनमा आफुले जोड दिने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । अन्तराष्ट्रिय बजारको मापदण्डलाई पुरा गर्न सकेमा महको बजारीकरणमा कुनै समस्या नहुने किट बिकास केन्द्रका प्रमुख हरिहर अधिकारीले बताउनुभयो ।
मौरी पालन व्यवसायले किसानहरुको आधुनिक खेती प्रणालीमा बालीहरुको उत्पादन र उत्पादकत्वमा बृद्धि ल्याउन सहयोग पुग्ने बिज्ञहरुले बताउदै आएका छन् । मौरीको परागसेचनले बाली उत्पादन र उत्पादकत्वमा बृद्धि ल्याउने भएको हुदा मौरी व्यवसायको महत्व किसानहरुका लागि निक्कै माथि रहेको छ । आधुनिक मौरी पालन व्यवसायबाट मह लगाएत मैन, शाही खुराक, कुट, खोटो, प्याकेज, मौरीगोला जस्ता उपजको उत्पादन, महको गुणस्तर, मुल्य श्रृङखला तथा बजार व्यवस्थापन, मौरी पालनका लागि संस्थागत बिकास आदि जस्ता महत्वहरु रहेका छन् ।
मौरी पालन व्यवसायमा आफुले हासिल गरेका अनुभव, समस्या र चुनौतिहरुका विषयमा स्थानीय किसानहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभाग अन्तरगत रहेको किट विकास केन्द्रका प्रमुख तथा सह–सचिब हरिहर अधिकारी, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल लगाएतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो डिजिटल स¬चारमा खवर छ ।










