उपनिर्वाचन सुरक्षाका लागि ३३ हजार सुरक्षाकर्मी परिचालन हुने

गृह मन्त्रालयले उपनिर्वाचन सुरक्षार्थ १० हजार नेपाली सेना सहित ३३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
आगागी १४ मंसिरमा देशभरका कुल ५२ स्थानमा रिक्त पदमा उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाको एक, प्रदेशसभा तीन, उपमहानगरको मेयर एक, नगरपालिकाका मेयर एक, गाउँपालिका प्रमुख तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदमा निर्वाचन हुने भएको हो ।
मन्त्रालयले निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सोही बमोजिम सुरक्षा योजना बनाएको छ ।
उपनिर्वाचनको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकाय परिचालन हुनेछन् । निर्वाचन हुने स्थान र मतपेटिका रहने पहिलो घेरामा नेपाल प्रहरीले सुरक्षा दिनेछ । त्यस्तै दोस्रो घेरामा नेपाली सेना तथा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्नेछन् ।
मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सुरक्षा मजबुत पार्न १० हजार नेपाली सेना, १२ हजार नेपाल प्रहरी ११ हजार सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका गरी ३३ हजार बढी सुरक्षाकर्मी परिचालन हुने बताए ।
सुरक्षाको अवस्था हेरी जिल्ला सुरक्षा समितिले सुरक्षाकर्मी संख्या बढाउन वा थप सुरक्षा माग्न सक्ने मन्त्रालयले जनाएको छ ।








