प्रधानमन्त्रीको निजी सचिवालयका सबैले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन भनेपछि सचिवालयको सबै सदस्यले आइतबार राजीनामा बुझाएका हुन्।

हामी सबै बसेर सामूहिक निष्कर्ष निकालेका हौं, प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले सेतोपाटीसँग भने, प्रधानमन्त्रीले एक , दुई जनालाई छोड भन्न नमिलेपछि सबैलाई राजीनामा दिन भन्नुभएको हो। हामीमध्ये कोही फर्किन पनि सक्छौं।

केही दिनमै नयाँ टिम प्रधानमन्त्रीको सचिवालयमा जाने ती सदस्यले  बताए।

प्रधानमन्त्रीको सचिवालय चुस्त नभएको भनेर पार्टीभित्रै पनि आलोचना भइरहेको थियो। यसअघि शुक्रबार प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयमा रहेकालाई राजीनामा दिन भनेका थिए।

प्रधानमन्त्रीको सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, सूचना प्रविधि सल्लाहकार असगर अली, प्रेस संयोजक चेतन अधिकारी र रामशरण बजगाईं थिए।





error: Content is protected !!