आजदेखि आलमको थुनछेक बहस सुरु

नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको आजदेखि थुनछेक बहस सुरु हुनेछ । उनको जिल्ला अदाललत रौतहटमा बयान सकिएको छ । तीन दिनदेखि जारी बयान बिहीबार सकिएपछि अब थुनछेक बहस हुनेछ ।

२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । त्यसमा जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि अब आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

आलमलाई जम्मा ५१ बटा प्रश्न सोधिएको छ । आज तेस्रो दिनको बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विष्फोट सम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । न्यायाधीशले सोधेको अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका छन् ।
तत्कालीन समयमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो भन्ने प्रश्नमा मात्रै आलम ले हो त्यसबेला मुद्दा नचलाउने निर्णय भएको बताएका थिए ।

आलमले यही एक मात्र प्रश्नको साविती बयान दिएका छन् । पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा. कुमार शर्मा आचार्यले बहस गर्नेछन् । प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट आएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!