यस कारण पदैछ सवैको रोजाईमा जाजरकोट दरवार

जाजरकोट ः कर्णालीको पर्यटन प्रवद्र्धन र भ्रमण वर्षलाई सफल बनाउन बीएल–मनघरी फाउन्डेसन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा काठमाडौंको पशुपतिदेखि शे–फोक्सुण्डोसम्म यात्रा तय गरेको टोलीले जाजरकोट दरबारको अवलोकन गरेको छ ।

पहिलोपटक पशुपतिदेखि शे–फोक्सुण्डो तालसम्म बुलेट मोटरसाइकल यात्रा सुरू गरेको टोली यहाँ जाजरकोट दरवारको अवलोकन गरेको हो । हालै राष्ट्रिय सडक सञ्जालमा जोडिएको डोल्पामा अवस्थित नेपालकै गहिरो ताल शे–फोक्सन्डो सम्म मोटरसाइल यात्रा तय गरिएको छ । भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले उनीहरुलाई खादा र फुलमाला लगाएर स्वागत गनुभएको थियो । आईतवार विहान जाजरकोट दरबार अवलोकन गर्न पुगेका टोलीलाई जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले फुलमालाले स्वागत गर्नुभएको थियो । पशुपति देखी शे–फोक्सन्डो सम्म बुलेट बाईक यात्राको क्रममा सो टोलीलाई सरकारले केही समय अघि सार्वजनिक गरेका एक सय गन्तब्यमा पर्ने जाजरकोट दरबारको समेत अवलोकन गराईएको प्रजिअ पन्तले बताउनुभयो । पर्यटन प्रवद्र्धनमा जाजरकोट दरबारको प्रचारले थप टेवा पुग्ने उहाँको विश्वास छ ।

यसअघि सबैभन्दा ठूलो ताल मुगुको रारासम्म पनि बुलेट यात्रा गरिएको थियो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न रोइलफिल्ड मोटरसाइकल राइडरले गत शुक्रवार काठमाडौंदेखि फोक्सुण्डो यात्रा थालेका हुन् ।
काठमाडौंबाट हिडेको र्याली पहिलो दिन दाङ दोस्रो दिन जाजरकोट बास बसेर जाजरकोट दरबारको अवलोकन गदै डोल्पा प्रस्थान गरेको छ । टोली आईतवार नै डोल्पा सदरमुकाम दुनै पुग्नेछ । त्यसपछि टोली शे–फोक्सुण्डोको यात्रामा लाग्ने आयोजक क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताउनुभयो ।

र्यालीमा १२ वटा मोटरसाइल सहभागी छन् । भर्खरै नासा क्लबले नेपालको पर्यटन प्रवद्र्धनका लागि काठमाडौंदेखि भारतको लदाकसम्म बुलेट राइड गरेको थियो ।

किन अवलोकन गर्ने जाजरकोट दरबार

ऐतिहासिक , राजनैतिक तथा पुरातात्विक महत्व बोकेको साढे दुई सय बर्ष पुरानो जाजरकोट दरबारलाई पर्यटकिय गन्तब्यमा राखिएको हो । बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको जाजरकोट दरबारलाई सरकारले पर्यटकिय गन्तब्यमा समावेश गरे सँगै यसको महत्व बढेको छ । इतिहासका जानकार राजुराजा सिंहका अनुसार जाजरकोट राज्यको राजधानी शुरुमा जगतिपुरमा थियो । जाजरकोट राज्य संस्थापक जगती सिंहका नाती तत्कालिन राजा देव सिंहको घोडाले हालको जिल्ला सदरमुकाम खलंगाको टाकुरामा मन पराएको र बाईसे चौविसे राज्यको लडाई चलिरहेका बेला सुरक्षा दृष्किोणले पनि उपयुक्त भएपछि १६ औ शताब्दीमा जगतिपुरबाट खलंगामा राजधानी सारिएको थियो । शुरुमा सामान्य दरबार भएपनि १८ औ शताब्दीको ३० को दशकमा तत्कालीन राजा गजेन्द्रनारायणले सात तले दरबारको निर्माण गरेका हुन् । भक्तपुरबाट ल्याएका चर्चित कालिगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट इँटा बोकाएर दरबारको निर्माण भएको सिंहले बताउनुभयो ।

‘जाजरकोट दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डारघर, भारदारी बैठक कक्ष, सिंहद्वार, मयूरद्वार, नारायण थान लगायत रहेको इतिहासमा उल्लेख छ,’ सिंहले भने विसं १९९० सालको भूकम्पका कारण दरबार भत्किएपछि पुर्णनिर्माण गरेर चार तला मात्र बनाईएको हो । हाल उक्त दरबार चार तले छ । दरबारको भव्य महलबीचमा रानीहरूले नुहाउने तलाउ र दुई सिंहले खुट्टा उचालेर आक्रोश व्यक्त गरेको चित्रण देखिने कलात्मक प्रवेशद्वारको अहिले नामनिसान छैन । सरकारले २०१७ सालमा राजा रजौटाको उन्मूलन गरेपछि राजाले बस्न छाडेको यो दरबारका ऐतिहासिक वस्तुहरू हराएका छन् । दरबारको सातौं तलामा रहेको नारायणथानको मन्दिरको प्राचीन मूर्ति पनि हराएको सिहले बताउनुभयो  ।

जाजरकोट राज्यका अन्तिम राजा स्वयमप्रकाश शाहका छोरा प्रकाशविक्रम शाहले २०४२ सालमा जिल्ला पञ्चायतलाई ६० हजार रुपैयाँमा दरबार बिक्री गरेका थिए । त्यसपछि उक्त दरबारमा जिल्ला प्रशासन कार्यालय बस्दै आएको छ ।

दरबारको संरक्षण नहुँदा पूर्वजको चिनारी र ऐतिहासिक सम्पदा नष्ट हुन गएको स्थानीयको भनाइ छ । ऐतिहासिक जगतीपुर दरबारको भग्नावेशसमेत छैन । केही वर्ष अघिसम्म बडादसैंको फुलपाती देखि विजयादशमी सम्म यही दरबारमा बन्दुक पड्काएर हर्षबढाइँ गर्ने चलन थियो । तर उक्त चलन अहिले हराउँदै गएको छ ।नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शक्तिशाली राज्यको रूपमा जाजरकोट थियो ।

दरबार पुरातत्व विभागमा दर्ता भए पनि रेखदेख र संरक्षणमा कसैको चासो नदेखाएको स्थानीयवासीको आरोप छ । दसैंका बेला जाजरकोट राज्यको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व झल्काउने राँगो बली दिएर मेला लगाउन परम्परा पनि ओझेल परेको प्रवाह डटकमा उल्लेख छ।

पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्गको पूजा गर्न ९ राँगा र ९ बोकाको बलि दिने चलन हराउँदै गएको छ । विसं १९१४ मा ताक्लाकोटको लडाइँमा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले विजय हासिल गर्दाका छालाको तोप र अन्य हतियार राष्ट्रिय संग्रहालय छाउनीमा रहेको शाहको भनाइ छ । १८२५ साल माघ ५ गते भारतको मणिकर्णिका घाटमा जाजरकोटी राजा हरि शाहले गोरखाका राजा पृथ्वीनारायण शाहसँग एक अर्कालाई सहयोग गर्ने भन्दै मितेरी साइनो लगाएर गरेको धर्मसन्धिका बेला पाएका केही उपहार तथा दस्तावेज पनि हराएका छन् । ।




सम्बन्धित समाचार


error: Content is protected !!