मानिस–कुकुरबीचको सम्बन्ध र अनि कस्तो छ नाता ?

आजभन्दा हज्जारौं वर्ष पहिले यस पृथ्वीमा अति घना जंगलहरु थिए । ती जंगलहरुमा विशालकाय स्तनपायी जनावरहरु विचरण गर्ने गर्थे । त्यति बेला मानिस आजको जस्तो विकसित मानिस थिएन । त्यतिबेलाको मानिस जंगली अवस्थामा थियो । उनीहरु जंगली जनावरहरुको छालाले आफ्नो शरीर ढाक्ने गर्थे । उनीहरुको जीवनचर्या भनेकै अन्य जंगली जीवजन्तुहरुको शिकार गर्ने र पेट पाल्नेमा सीमित थियो । उनीहरुले जनावरलाई घरपालुवाको रुपमा फेर्न सिकेका थिएनन् ।
ठीक त्यति बेला मानिसको सहकर्मीको रुपमा जंगली कुकुररब्वाँसाहरु देखापरे । खासमा, मानिसहरु शिकार गर्न जाँदा ती जंगली कुकुरहरुले पछ्याउने गर्थे । यसरी पछ्याउनुको खास कारण चाहिँ शिकारबाट बच्ने हड्डीहरु तथा अन्य अवशेष खान पाउने लोभ थियो । मानिसले आफूले गरेको शिकारको सबै भाग खान सक्दैनथे । कतिपय अवस्थामा उनीहरु बढी भएको शिकार फ्यालिदिन्थे भने कम्तिमा पनि उनीहरुले ठूल्ठूला हड्डीहरु चाहिँ अवश्य पनि फालिदिन्थे । त्यसरी फालिएको हड्डी शिकारमा मान्छेलाई पछ्याउने कुकुरको लागि राम्रो र सजिलो आहारा हुन्थ्यो ।
यसरी शिकारमा मान्छेलाई पछ्याउने क्रममा मान्छेको सबैभन्दा नजिकको जंगली जन्तु कुकुररब्वाँसो बन्न पुग्यो । लामो समयसम्म मानिसमाथि कुकुरको यो निर्भरताले कुकुरले मानिसलाई आफ्नो नेतृत्वको रुपमा प्राकृतिक रुपमा स्वीकार्न पुग्यो । मानिसले पनि लामो समयसम्मको सहधर्मिताको क्रममा कुकुरको उपयोगितालाई बुझ्न थालेको थियो । त्यसैले त्यस जंगली अवस्थाका मानिसले कुकुरलाई आफूसँगै पाल्न थाले । उनीहरुले कुकुरको सुँघ्ने शक्तिलाई राम्ररी बुझ्न थालेका थिए । फलतः मानिसले शिकारको क्रममा कुन जनावर कहाँ छ भनी पत्ता लगाउन कुकुरबाट मद्दत लिन थाल्यो । मानिसले कुकुरलाई आफ्नो शिकारको क्रममा मद्दत गर्न तालिम दियो । फेरि मारिएको शिकारलाई बोक्न तथा आफू आगो बालेर बसेको स्थानको रखवाली गर्न पनि मानिसले कुकुरलाई सिकायो । यसरी कुकुर मानिसको घरपालुवा प्राणीहरुको सूचीमा सबैभन्दा प्रथम भयो ।
कस्तो थियो कुकुरको पुर्खा
प्राचीन कालमा कुकुर आजभोलिको जस्तो कुकुर थिएन । पुरातत्वशास्त्री एवं पशुविदहरुका अनुसार, आजभन्दा करीब ६० मिलियन वर्ष अगाडि कुकुर एउटा सानो स्तनपायी जनावर थियो । आजभोलिको एशिया भनिने क्षेत्रमा पाइने उक्त जनावर मिएसिस ९ःष्बअष्क० थियो । हो यही प्राणी नै आजभोलिका कुकुर, स्याल, ब्वाँसो र फ्याउरोको आदिम पुर्खा थियो । उक्त मिएसिस नामक जीव सोझै कुकुरमा रुपान्तर भएको हैन, बरु त्यस जीवबाटै कुकुरको प्रजाति विकसित भएको हो । आजभन्दा करीब ३ देखि ४ करोड वर्ष पहिले मिएसिसबाट विकसित भएर आजको कुकुरको पुर्खाको उत्पत्ति भएको थियो, जसलाई क्यानोडिक्टिस ९ऋबलयमष्अतष्क० भनिन्थ्यो । मध्यम आकारको यो जीव अग्लोभन्दा पनि लाम्चो प्रकारको थियो र लामो पुच्छर भएको यो जीवको शरीर भुत्लाले ढाकिएको थियो । समयक्रममा त्यही क्यानोडिक्टिस दुई वटा हाँगामा फाटिएर विकसित भयो– एउटा अफ्रिकामा र अर्को युरेसियामा । युरेसियामा विकसित भएको कुकुरको पुर्खालाई टोमार्कट्स भनियो । वास्तवमा यो ब्वाँसो, कुकुर र फ्याउरोहरुको पुर्खा थियो । यही क्रममा आजभन्दा १२ हजारदेखि १४ हजार वर्ष पहिलेको समयबीच ब्वाँसोको खरानीरंगको एउटा सानो प्रजातिको विकास भयो । त्यसबेला उक्त जीव अहिलेको भारत भएको क्षेत्रमा विचरण गर्दथ्यो । यो नयाँ विकसित ब्वाँसोलाई क्यानिस लुपस पालिपेस ९ऋबलष्क गिउगक उबििष्उभक० भनिन्थ्यो । उक्त जीव कालक्रममा अहिलेको यूरोप, एशिया र उत्तर अमेरिकी क्षेत्रहरुमा फैलियो । यही जीवबाट नै कुकुरको उत्पत्ति भएको थियो भनी मानिन्छ ।
त्यसो त कुकुरको पुर्खा नै कुन हो त भन्ने बारेमा पनि वैज्ञानिकहरुका बीचमा एकमत छैन । केही वैज्ञानिकहरुको विचारमा ब्वाँसो र स्यालबीचको सम्बन्धबाट कुकुरको उत्पत्ति भएको हो । अर्काथरि वैज्ञानिकहरुको विचारमा चाहिँ ब्वाँसोबाट नै विकास हुँदै कुकुरको उत्पत्ति भएको हो । त्यसैगरी, केही प्रजातिका कुकुरहरु चाहिँ स्याल, फ्याउरो जस्ता जनावरहरुबाट विकसित भएका हुन् । यसरी कुकुरको पुर्खा एवं उत्पत्तिका बारेमा वैज्ञानिकहरुका बीचमा मतभिन्नताहरु छन् । तर पनि वृहद रुपमा के कुरा चाहिँ स्वीकारिएको छ भने, आधुनिक कुकुर र ब्वाँसोको पुर्खा चाहिँ एकै हुनुपर्छ
कुकुरलाई यो सम्मान
इतिहासको लेखन शुरु भएदेखि नै मानिसको इतिहाससँगसँगै कुकुरको पनि उल्लेख भएको पाइन्छ । आजभन्दा ५ हजार वर्ष पुरानो मानिएको इजिप्टका पिरामिडहरुमा रहेको चित्रमा पनि मानिस सँगसँगै कुकुरको पनि चित्र देख्न पाइन्छ । प्राचीन कालमा इजिप्टमा कुकुरलाई पवित्र जन्तुको रुपमा लिने गरिन्थ्यो । त्यसबेला इजिप्टमा कुकुरको सम्मान देउतासरह गरिन्थ्यो । कुकुरको हेरचाहको लागि नोकरचाकर नै राखिएको हुन्थ्यो र त्यसलाई गरगहना तथा कपडाहरुले सिंगारिन्थ्यो । त्यसबेला सम्भ्रान्तहरुलाई मात्र कुकुर पाल्ने अनुमति दिइन्थ्यो । त्यसबेला कसैको घरमा कुकुर मर्यो भने उसको पूरै परिवार नै मलामी जाने गर्थ्यो ।
इजिप्टको यो इतिहासले कुकुर र मानवबीचको सहधर्मिता निकै पुरानो समयदेखि रहेको कुराको पुष्टि गर्छ । त्यसैगरी युरोप, मध्यपूर्व र उत्तर अमेरिकामा फेला परेका पित्तल युग ९द्यचयलशभ ब्नभ० को बेलाका मानिएका गुफा, कन्दरा, पिरामिडहरुमा पनि कुकुरका रेखाकृतिहरु कोरिएका पाइन्छन् ।
बहुउपयोगी जनावर
मानिसप्रति कुकुरको अटुट बफादारी, लामो समयदेखिको सहधर्मिताको कारण आजभोलि पनि संसारभरि नै कुकुरलाई माया र सम्मान गर्ने गरिन्छ । शिकार र रखवाली गर्ने कामबाट शुरु भएको मानिस र कुकुरको सम्बन्धको क्रममा अहिले कुकुरको उपयोगिता धेरै क्षेत्रमा बढेको छ । घरको रक्षा गर्ने कार्यदेखि लिएर डुब्न लागेका मान्छेहरुको उद्दार गर्ने, अपराधी पत्ता लगाउने, युद्ध मैदानमा जमीनमुनि राखिएका विस्फोटक पदार्थ पत्ता लगाउने, अन्धाहरुलाई मार्गदर्शकको रुपमा काम गर्ने, हिमाली क्षेत्रमा स्लेज तान्ने, खेलकूद मनोरञ्जन गराउने, शिकार खोज्ने, भेडाबाख्रा चराउने लगायत अन्य विभिन्न कार्यहरुमा कुकुरको उपयोग हुने गरेको छ । कुकुरको यही बहुउपयोगिता अनुसार, यसको विभिन्न उच्च प्रजातिहरु पनि विकसित गरिइसकेका छन् । यसक्रममा कुकुरका करीब ४०० जातहरु पैदा भइसकेका छन्, जसलाई सातवटा समूहमा विभाजित गर्ने गरिन्छ ।
कुकुरको बहुउपयोगिता रहे तापनि आधुनिक संसारभरि नै कुकुरलाई शौखको रुपमा पाल्नेहरुको जमात सबैभन्दा बढी छ । त्यसैले धेरै प्रजातिका कुकुरहरु त मात्र शौखको रुपमा पाल्नेहरुका लागि विकसित गरिएका हुन् ।



