रोकिएन जाजरकोटमा जडिवुटी चोरी–निकासी


गत मंसिरमा वारेकोटको ढोटाचौर सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष विरवहादुर शाहिले जथाभावी वन फडानी र जडिवुटी चोरी निकासी गर्ने डेढ दर्जन व्यवसायी विरुद्ध किटानी गरेको उजुर माथी डिभीजन वन कार्यालय जाजरकोटले अहिलेसम्म कुनै कार्वाही गरेको छैन ।
उजुरीमाथी कार्वाही नहुदा व्यवसायीहरु यो वर्षपनी चोरी निकासीमा सक्रिय भएका छन् । सामुदायिक वन समुहका अध्यक्ष शाहिले जाहिरी गरेको उजुरिमा ढोटाचौर सामुदायिक वन अन्तर्गत पर्ने दियावाल्न,लामाडाँडा,गडुल्ले,वारे,सज्वन,सुपाकुना,निलापर लगाएत वनक्षेत्रमा सामुदायीक वन समुह र डिभिजन वन कार्यालयको अनुमति विना गत वर्ष असोज २१ गते देखी मंसिर १० गते सम्म ५० हजार क्विन्टल भन्दा वढी सेतकचिनी (खिराङ्लो) संकलन गरी जुम्ला जिल्लामा चोरी निकासी गरेको र सेतक चिनी पकाउनको लागी उक्त वनक्षेत्र भित्र रहेका भोजपत्र,चिमालो,ठिकुरे सल्लो,कैयासी,डिग्रेधुपी,रयस जस्ता विभिन्न प्रजातिका रुख विरुवा र हजारौ निगाला फडानी गरेको उल्लेख गरिएको छ ।
उक्त किटानी उजुरी गुठीचौर गाउँपालिका ५ कुम्रिका भिम वहादुर भण्डारी,गुठीचौर गाउँपालिका १ का निर्मल ऐडी,गुठीचौर गाउँपालिका १ का जनक थकाली,२ का गोपाल वोहरा, ५ का सुर्यवहादुर शाही,पातारासी गाउँपालिका ३ का जंगविर वोहरा,टंक गिरी, तातोपानी गाउँपालिका ७ का लालवहादुर शाही गरी ८ जना व्यापारीका नाममा रहेको छ ।
डिभिजन वनकार्यालय जाजरकोटले मुद्धाको विषयमा सोधपुछ गर्दा छानविन हुदैछ भन्दै ढाँटिरहेको र उजुरी दिएको एकवर्ष पुग्दा सम्म कार्वाहि गर्नुको सट्टा उल्टै उजुरी फिर्ता गर्न दवाव दिइरहेको सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष शाहिले वताए ।
गतवर्ष डिभिजन वन कार्यालयको ढिलासुस्ती र लापवाहिका कारण वातावरणिय प्रभाव मुल्याङ्कन नगरी संकलन गरिएको जडिवुटीको अवैधतरिकाले चोरी निकासी हुदा यहाँको लाखौँ राजश्व गुमेको छ ।
यो वर्ष वन पैदावार,संकलन,वन संरक्षण विकास सम्वन्धी कार्ययोजना हुनुपर्ने वन ऐन २०४१ र वन नियामावली २०५१ ले व्यवस्था गरे अनुसार वनविभाग वाट वातावरणिय प्रभाव मुल्याङ्कन स्विकृत भएपछी डिभिजन वन कार्यालयले एकैजातका जडिवुटी ५० हजार किलो सम्म मात्र संकलन पुर्जी वितरण गर्न पाउने कानुनी व्यवस्था भएकोले पासनवेद ४० हजार के जी सेतकचिनी ५० हजार के जी पदमचाल्नु ४२५०० के जी टिमुर ८९७५० के जी रातोच्याउ ३२६५५के जी सम्मको संकलन पुर्जी वितरण गरिएको डिभिजन वन कार्यालय जाजरकोटका निमित्त प्रमुख महेश कुमाइले जानकारी दिए ।
तर यता जाजरकोटका विभिन्न वनक्षेत्रमा संकलन पुर्जि दिनु अघीदेखीनै हजारौँ क्विन्टल जडिवुटी उत्खनन गरी व्यवसायीहरु चोरी निकासीमा सीक्रय रहेको पाइएको छ ।










