फोक्सुण्डो ताल ः पर्यटकको मुख्य रोजाई

जाजरकोट ,  नेपालकै गहिरो शे–फोक्सुण्डो ताल हेर्न आउने पर्यटकको चाप बढेको छ । फोक्सुण्डो ताल हेर्नका लागि उपयुक्त समय सुरु भएसँगै आन्तरिक तथा वाह्य पर्यटकहरु चाप बढेको हो ।

दशैँ बिदा भएदेखि यता दैनिक ३० जनासम्म आन्तरिक पर्यटकहरु आउने गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा आन्तरिक पर्यटकको संख्यामा दोब्बरले बृद्धि भएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङले बताए । ‘आन्तरिक पर्यटकले फोक्सुण्डोका सम्पूर्ण होटलहरु खचाखच भरिएका छन्,’ गुरुङले भने, ‘होटेलहरु सिमित भएकाले ओइरिएका पर्यटकको भार थाम्न सकेका छैनन् ।’

फोक्सुण्डोमा होटलको सङ्ख्या बढाउनुका साथै बाटोघाटोमा व्यवस्थित होटलको व्यवस्था गरेर प्रचार–प्रचार गर्न सके प्रत्येक वर्ष पर्यटकको संख्यमा बृद्धिहुने उनको भनाइ छ ।निलो हिराको रुपमा समेत परिचित फोक्सुण्डो तालले एकै दिनमा दर्जनौ पटक रङ फेर्ने स्थानीय बताउँछन् । निलो, चिसो र कञ्चन पानी तालको अर्को विशेषता हो ।

तालको पृथक सुन्दरता र ताल आसपासका रैथाने स्थानीयको अनौठो संस्कार एवं भेषभुषाका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु फोक्सुण्डो पुग्न लालाहितहुने स्थानीय निमा गुरुङ्गको भनाइ छ ।

नेपालगंज विमानस्थलदेखि जुफाल विमानस्थलसम्म दैनिक उडानहुने भएपनि एयरलाइन्सका कर्मचारीले सहजै टिकट नदिने भएकाले हवाइ टिकटको झन्झटले धेरैजसो पर्यटकहरु नेपालगंञ्ज–जाजरकोटहुँदै डोल्पासम्म गाडीमा आउने गर्दछन् ।

केही महिना अघिमात्रै खुलेको जाजरकोट–डोल्पा सडकको बीचबीचमा पुल नबन्दा आधा दर्जन भन्दा धेरै ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने र व्यबस्थित होटलको अभावमा थुप्रै हैरानी ब्यहोर्नु पर्ने पर्यटकहरुको गुनासो छ ।

डोल्पामा पर्यटनको मुख्य मेरुदण्डको रुपमा रहेको फोक्सुण्डो ताल पुग्न सदरमुकाम दुनैदेखि दुई दिन लाग्छ ।





error: Content is protected !!