कर्णाली राजमार्गका १४ पुल अधुरै

कर्णाली राजमार्गअन्तर्गत दैलेखदेखि जुम्लासम्मको विभिन्न नदी तथा खोलामा निर्माण गर्नुपर्ने १५ मध्ये १४ पुल अधुरै रहेका छन् । एउटा पनि बाढीले क्षति पु¥याउँदै समस्या भएको छ ।
एक दशकदेखि राजमार्गका पुल बन्न सकेका छैनन् । विश्व बैंकका सहयोगमा १४ पुल निर्माणको ठेक्का दिइएको थियो भने एउटा पुल सडक डिभिजन कार्यालयले लगानी गरेको थियो । सबै पुलको निर्माण अवधि सकिन लागेको छ । निर्माण सम्पन्न गर्नुपर्ने समय तीन महिना मात्रै बाँकी रहेको सडक डिभिजन कार्यालय, सुर्खेतले जनाएको छ ।
सडक डिभिजन कार्यालयले वास्ता नगर्दा निर्माण कम्पनीले समयमै काम पूरा नगरेको स्थानीय बासिन्दाको आरोप छ । जसले गर्दा वर्षात्मा कयौँ दिन यातायात नै अवरुद्ध हुने गरेको छ । अहिले विश्व बैंकको टोलीले पुल निर्माण स्थलको अनुगमन गरेपछि सडक डिभिजन कार्यालय र निर्माण कम्पनी दबाबमा परेका छन् । निर्माणको कामलाई तीव्रता दिएको सडक डिभिजन कार्यालयले जनाएको छ । काम नगर्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाइने सडक डिभिजन कार्यालय, सुर्खेतका प्रमुख गुरु अधिकारीले बताए ।
सात वर्षदेखि सरिया मात्रै
कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्डको राकम कर्णालीनजिक पर्ने जाक्सीखोलाको पुल अलपत्र छ । सात वर्षदेखि सरिया मात्रै ठड्याइएका छन् । गत वर्ष ढलान गरिएको थियो । तर, पूरा हुन सकेको छैन ।
त्यस्तै, दैलेखको डुंगेश्वर गाउँपालिकामा पर्ने पक्की पुलको बीचको भाग ढलान भएको छ । तर, असारमा आएको बाढीले पुलको एउटा किनारमा क्षति पु¥याएको छ । पुल सडकभन्दा होचो बनेको छ । सडक डिभिजन कार्यालय र निर्माण कम्पनीको लापरबाहीले सडकभन्दा होचो भएको स्थानीय बासिन्दाको भनाइ छ । उनीहरूले विरोध गर्दै आएका छन् ।









