जुम्लामा कृत्रिम अभाव बल्ल बजार अनुगमन


दसैँको चहलपहल बढेसँगै जिल्लामा कृत्रिम अभाव सिर्जना भएको छ । विगतका वर्षहरूमा जस्तै यसपाली पनि कृत्रिम अभाव भएको हो । बजार अनुगमन नहुँदा कृत्रिम अभाव सिर्जना गर्नेहरूको मनोबल बढेको उपभोक्ता बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयले बुधबारबाट बल्ल अनुगमन थालेको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भने म्याद सकिएका सामानको खरिद बिक्री नहोस्, सामान हुँदा उपभोक्ता कृत्रिम अभावको मारमा नपरून् भन्ने सोचका साथ चाडपर्वलक्षित बजार अनुगमन सुरु गरिएको बताइन् । बन्जाडेका अनुसार बुधबार गरिएको बजार अनुगमनमा खाद्य पसल, डिजेल पेट्रोलका डिलर, होटल मीठाई पसलमा दुई टोली गरेर अनुमगन गरिएको हो ।
होटलहरूमा अझै सरसफाइको कमी देखिएको अनुगमनमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण अधिकृत अमित भूषण सुमनले बताए । दसैँ–तिहारलाई लक्षित गरेर बजार अनुमगन कार्यलाई निरन्तरता दिइने उनले बताए । कुनै उपभोक्ताले व्यापारीबाट आफू ठगिएको महसुस भएको खण्डमा सीधै प्रशासनमा सम्पर्क राख्न प्रमुख जिल्ला अधिकारी बन्जाडेले अपिल गरेकी छिन् ।
मासु पसलमा गरिएको अनुगमनमा विगतमा सुझाब दिइएका वधशालाको अवस्था सुध्रिएको पाइएको छ । उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष पुरीचन्द्र देवकोटाका अनुसार सबै वस्तुमा मूल्यसूची अनिवार्य हुनुपर्नेछ । ‘व्यापारीहरूलाई पटक–पटक सुझाएका छौँ । मूल्यसूचीविनै खरिद बिक्री गर्न नपाइने अवस्थाबारे जानकार भएको पाइएको छ’ उनले भने । दसैँ–तिहारको अवसरमा आवश्यकताअनुसार जुम्लामा बजार अनुमगनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ ।








