मकैबालीमा भालु र बाँदरको आतंक

रुकुम : रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ ओख्रेनाका किसानले लगाएको मकैबालीमा भालुको आतंक बढेको छ।
भालुले स्थानीय १६ घरपरिवारको ठूलो मात्रामा पाक्न थालेको मकैबालीमा क्षति पुर्याएको हो। भालुले स्थानीयको मकैबालीका साथै गाईगोरु समेत मार्ने गरेको वडाध्यक्ष मानबहादुर बुढाले जानकारी दिए।
मकैबाली जोगाउन किसानहरुले बारीमा कुकुरहरु बाँध्ने गरे पनि भालु आउन नछाडेको उनको भनाइ छ। सिस्ने हिमालको फेदमा रहेको ठूलो जंगलमा स्थायी रुपले बस्दै आएका भालुहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको वडाध्यक्ष बुढाले बताए। मान्छेहरुलाई समेत आक्रमण गर्ने भएकोले भालु धपाउन समस्या भएको किसानहरुको गुनासो रहेको छ।
यसैबीच मुसिकोट नगरपालिका–२ राउखेतका चारजना किसानले लगाएको मकैबालीमा बाँदरले क्षति पुर्याएको छ। आफूहरुले लगाएको मकै बाँदरले सखाप बनाएपछि किसानहरु चिन्तित बनेका छन्। स्थानीय किसानहरु पूर्णबहादुर खत्री, विर्खध्वज पुन, मानबहादुर पुन, खम्बु खड्का र तिलक खड्काले लगाउनुभएको मकै बाँदरले ठूलो मात्रामा क्षति पुर्याएको हो।
आफ्नो करिब चार/पाँच मुरी उत्पादन हुने मकैबाली बाँदरले खाइदिएको किसान पूर्णबहादुर खत्रीले दुखेसो गरे। प्रत्येक वर्ष बाँदर लाग्ने गरेकोमा अहिले सबैभन्दा बढि क्षति पुर्याएको उनीहरुको भनाई छ। ‘बाँदर धपाउन हामी सबैले पालैपालो पहरा बस्ने गरे पनि झुक्याएर यत्रो क्षति पुर्याइदिन्छ।’
खत्रीले भने, ‘मुख्य अन्नबालीमा बाँदरले क्षति गरेपछि ६ महिनाको दुःख त्यत्तिकै खेर गयो।’ नजिकै रहेको सानीभेरी नदी माथिको जंगलमा बसेको बाँदरको यो समूहले यसका आसपासका अन्य गाउँमा समेत क्षति गर्ने गरेको स्थानीयको भनाइ छ।









