विप्लव समूहको कुटपिबाट गम्भीर घाइते अधिकृतलाई नेपालगन्ज लगियो


मुगु : कामको शिलशिलामा सदरमुकमा गमगढीदेखि कार्यक्षेत्र सोरु गाउँपालिका जाँदै गरेका एकजना अधिकृतलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कुटपिट गरेका छन्।
सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि कुटपिट भएको हो। विप्लवका कार्यकर्ताले कुटपिट गरेपछि उनलाई उपचारका लागि सदरमुकाम गमगढी ल्याइएको थियो।
टाउकोमा गहिरो चाट लागेकाले उपचारको लागि नेपालगञ्ज रिफर गरिएपछि हेलिकोप्टरबाट त्यसतर्फ लगिएको छ। सोमबार गमगढीदेखि सोरु गाउँपालिका कार्यालय सोरुकोटतर्फ जाँदै गरेका उपाध्यायमाथि विप्लव समूहका कार्यकर्ताले सोरु गाउँपालिका-६ तारापानीमा कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
घटनाको जानकारी आएलगतै कुटपिट गर्नेहरूको खोजीका लागि प्रहरी चौकी कालै र जिल्लाबाट टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए। सिटी स्क्यान सुविधा मुगमा नाभएकाले चोटबारे केही भन्न नमिल्ने साहले बताए। उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।







