माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन

हेमन्त केसी 
जाजरकोट , अघिल्लो वर्ष कृषि जन्य पर्दाथको उत्पादन बढाउन माटो जाँच गरे सँगै उत्पादन बढेको छ ।
अघिल्लो वर्ष भन्दा यो वर्ष उत्पादनमा बृद्धी भए सँगै किसानहरुले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा विउ लिएर व्यवसायीक खेती गर्न थालेका छन् ।
७५ प्रतिशत अनुदानमा अघिल्लो वर्ष विउ पाएका किसानले अहिले ५० प्रतिशत अनुदानमा विउ पाएका हुँन् । नगरपालिकाले गाउँ , गाउँमा गएर किसानको खेतबारीमै माटो जाँच गरी माटोमा अम्लिए पन पत्ता लगाएर सोही अनुसारका विउँ सिफारिस गरेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो ।
कृषक समुह मार्फत विउ वितरण गरी सवै कृषकलाई व्यवसायीक रुपमा खेती गर्ने वातावरण बनाएको छ उहाँले भन्नुभयो , “ अघिल्लो वर्ष भन्दा यो वर्ष विउँ लिने र सहयोग माग्ने कृषकको सङख्य अत्यधिक भएको छ , हामीले पनि जिल्लाकै मुटु मानिने भेरी नगरपालिकालाई सवै भन्दा उत्कृष्ट बनाउनका लागि किसानको माग नै पहिलो आधार बनाएका छौँ ,। ”
कृषकले लगाएको बालीको हेरदेख र सल्लाह दिनका लागि उहाँहरुकै खेतबारीमा प्राविधिक खटाउनुका साथै वडा अध्यक्षहरुलाई निगरानी गर्न आग्रह समेत गरेको प्रमुख घर्तीले भन्नुभयो ।
जनताको जीवन स्तर माथी नउठाई राजनीतिक क्रान्ति र देश संमृद्ध नहुँने भएकाले हाम्रो पहिलो प्राथमिकता किसानमैत्री बन्नु हो भन्दै नगरप्रमुख घर्तीले भन्नुभयो , “ अहिले हामीले जिल्ला सदरमुकाममा दुध डेरी सञ्चालन गर्न र ठाउँ अनुसारको खेती गराउन पलस्टर बनाएर काम गरिरहेको छौँ , । ”
माटो र परिवेश सुहाउदो खेती गर्न किसानलाई सहयोग गरी अगाडी बढाउनका लागि कृषि क्षेत्र विकास कार्यक्रम सँग सम्झौता गरिएको छ । यो कार्यक्रमबाट भेरी नगरपालिकाका कृषकहरुको जीवनस्तर माथी उठाउन महत्वपुर्ण कार्य हुँने नगरपालिकाले जनाएको छ ।
कार्यक्रमले पुर्वधार विकासका साथै तरकारी खेती , औखर , कागती लगाएका विरुवा उत्पादनमा लगानी गर्ने छ । कृषकहरुले उत्पादन गरेका कृषि जन्य वस्तुको बजारीकरण गर्नका लागि सडक निर्माण गर्ने योजना समेत रहेको छ ।
त्यस्तै किसानलाई कृषिजन्य वस्तुको उत्पादन गर्नका लागि चाहिने मल , औजार , आवश्यक औषधी तथा उपकरणका साथै तालिम समेत दिने प्रमुख घर्तीले बताउनुभयो । जिल्लाको सवै भन्दा बढी तरकारी उत्पादन गर्ने थलोको रुपमा परिचित भेरी नगरपालिकामा कृषि क्षेत्र विकास कार्यक्रम लागु भएसँगै आर्थिक रुपमा पनि निकै सजिलो भएको कृषकले बताएका छन् ।
माटो जाँच पछि उत्पादन राम्रो पाएर कृषिजन्य वस्तुको उत्पादनलाई थप प्रभावकारी बनाएका कृषकहरु अहिले नगरपालिकामा नयाँ , नयाँ खालका योजना माग गर्न थालेका छन् ।
भेरी नगरपालिका – ८ का कृषक लालबहादुर थापाले भन्नुभयो , “ हामी माल भएर चाल नपाउँने किसान रहेछौँ , अहिले हामी नगरपालिका सँगको सहकार्य लाई बढाएर लैजान्छौँ र आफै आत्मनिर्भर भई परिचय बदल्छौँ । ” स्थानीय सरकार नहुँदा सदरमुकाम आएर कहिले पनि विउ नपाई फर्केको व्यथा सुनाउँदै अर्का किसान मानबहादुर घर्तीले भन्नुभयो , “ हामीले नै भोट हालेको छोरा , मालिक छ , हामी केही परेमा उसैलाई भन्छौँ , हाम्रा कुरा राम्रो सँग सुनेका छन् , हामी खुसी छौँ । ”
भेरी नगरपालिकाले नेपालकै पहिलो पोषण एप्स बनाई प्रयोगमा ल्याएसँगै यहाँका कृषकहरुले लाभ समेत पठाएका छन् । सो एप्समा कृषि देखि पोषण सम्म र बालीबाली लगाउने देखि कसरी खाने सम्मका कुरा समेटिएका कारण कृषकलाई सजिलो भएको हो ।
कृषकलाई राहत पुग्ने खालका नयाँ , नयाँ योजना ल्याएर प्रयोग गर्ने थुपै योजना कार्यान्वयमा आउने प्रशासकीय अधिकृत डिल्लीराज वेल्वासेले बताउनुभयो ।








