जेष्ठ नागरिकको हवाई भाडा छुटमा एयरलाइन्स विभाजित

काठमाडौँ  , ७० वर्षमाथि उमेर नाघेका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिनुपर्ने विषयमा एयरलाइन्स विभाजित भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको २६ औं दिन भदौं ९ गते मा मन्त्री योगेश भट्टराईले आफ्नो पहिलो कार्यकालको १ सय ४१ वटा कार्ययोजनासहितको एक वर्षे कार्यक्रम सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने कार्यक्रम ल्याएका थिए। लगत्तै भोलीपल्ट आन्तरिक उडानमा रहेका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ (आओन)ले असहमति जनाएको थियो।

उक्त संस्थाले पर्यटन मन्त्री भट्टराईले आफूहरुसँग सल्लाह नै नगरी जेष्ठ नागरिकलाई छुट दिने कार्यक्रम ल्याएको भनी टिप्पणी गरेको थियो। यस संघमा हेलिकप्टरसहित १५ वटा एयरलाइन्स कम्पनी सदस्य छन्।

तर, मन्त्रीको उक्त कार्यक्रममा समर्थन जनाउँदै निजी क्षेत्रको श्री एयरलाइन्स र ध्वजाबहाक नेपाल वायुसेवा निगमले जेष्ठ नागरिकलाई छुट दिन सकिने प्याकेज सार्वजनिक गरेका छन्। श्रीका प्रबन्धक अनिल मानन्धरद्वारा सोमबार जारी विज्ञप्ती अनुसार ७५ वर्ष नाघेका यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने भएको छ।

नेपालबाट भारत लगायतमा छिमेकी मुलुकमा चार्टर उडान अनुमती पाइसकेको श्रीले घोषणा गरेको छुट आन्तरिक उडानका लागि मात्रै भनेको छ। श्रीले छुट फियुल सरचार्ज र विमानस्थल सेवा शुल्कमा नरहेको जनाएको छ। उसले एउटा उडानमा दुई जना जेष्ठ नागरिकलाई छुट दिने भनेको छ। तर, टिकट भने श्रीकै काउन्टरबाट खरिद गर्नुपर्ने जनाएको छ।

नेपाल वायुसेवा निगमलेअसोज १ गते विज्ञप्तीमार्फत् ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ। ‘निगमको निर्णय अनुसार यो व्यवस्था आसेज १ गते २०७६ देखि लागू हुनेछ,’ निगमका सहायक प्रवक्ता सुलेख मिश्रद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘जेष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ।’

मन्त्री भट्टराईले घोषणा गरेका कार्यक्रममध्ये ५० प्रतिशतको छुट समेत समावेश भएकाले निगमले त्यसलाई कार्यरुपमा ल्याउन ५० प्रतिशत छुटको व्यवस्था गरिएको निगमले भनेको छ।

मन्त्रीको निर्णय मान्ने दुईवटा एयरलाइन्स आओनको सदस्य एयरलाइन्स होइनन्। आओनमा सर्वाधिक जहाज अनि उडान गर्ने बुद्ध, यति लगायत ७ वटा आन्तरिक एयरलायन्स सदस्य छन्। तीनले मन्त्रीको निर्णय स्वीकार नगर्ने लिखित पत्र नै मन्त्रालयमा दर्ता गराएपछि मन्त्री भट्टराईले पूर्व पर्यटन सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा भदौ २५ गते ८ सदस्यीय कार्यदल गठन गरेका छन्।

यस कार्यदलले सरोकारवालासँग छलफल गरी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छुट दिलाउन सकिने आधारसहित एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ। त्यस्तै मन्त्रीले कार्यदललाई आन्तरिक हवाई भाडा दरमा विदेशी र स्वदेशी यात्रुलाई फरक फरक भाडादर ९डलर फेयर० लिने प्रचलनलाई एकरुपमा ल्याउन पनि अध्ययन गरेर प्रतिवेदन बुझाउन भनेका छन्।

मन्त्रीको निर्देशनलाई निजी क्षेत्रको सर्वाधिक यात्रु सेवा प्रदान गर्दै आएको बुद्ध एयरले अस्विकार गरेको छ। बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पर्यटन मन्त्रीले बिना अध्ययन ल्याएका दुवै प्रस्ताव लागू हुन नसक्ने भनेका छन्। यदि डलर फेयर हटाइएमा निजी एयरलाइन्सले उद्योग बन्द गरेर पर्यटन मन्त्रीलाई साँचो बुझाउनुपर्ने अवस्था हुने उनले नेपालपोष्टसँग भने।





error: Content is protected !!