वैज्ञानिकहरुको खोज तथा अनुसन्धान जनताको जीवनसँग जोड्ने विषयमा केन्द्रीत हुनुपर्ने , वन तथा वातवरणमन्त्री बस्नेत

काठमाडौँ , वन तथा वातवरणमन्त्री शक्तिबहादुर बस्नेतले पुस्तक सार्वजनिक गर्दै वैज्ञानिकहरुको खोज तथा अनुसन्धान जनताको जीवनसँग कसरी जोड्ने भन्ने विषयमा केन्द्रीत हुनुपर्ने बताए। मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले किताब वैज्ञानिकहरुका लागि मात्रै भएको र यसलाई आम सर्वसाधरणहरुले बुझ्ने र जानकारी दिने किसिमको ल्याउन सुझाव दिए। यस्तै,उनले वैज्ञानिकहरुलाई अनुसन्धानबाट आएको निष्कर्ष सीमित समूहमा मात्रै नरहेर सबैकहाँ पुर्‍याउनुपर्ने बताए। नेपालबाट पत्ता लागेका फूल फूल्ने वनस्पतिको विवरण संग्रहीत पुस्तक तयार भएको छ । विश्वमा पाइने फूल फूल्ने वनस्पतिहरुमध्ये १ हजार ६ सय ५८ वटा नेपालबाट पहिलोपटक पत्ता लागेको उक्त पुस्तकमा उल्लेख छ । वनस्पति विभागले मंगलबार सार्वजनिक गरेको ‘फ्लावरिङ प्लान्टस् डिस्कभर्ड फ्रम नेपाल’ पुस्तकमा सन् १८०५ देखि २०१९ सम्म फूल फूल्ने वनस्पति प्रजातिहरु नेपालबाट पहिलोपटक पत्ता लागेको उल्लेख छ ।

नेपालबाट पत्ता लागेका यी प्रजातिहरुमध्ये ३ सय ७४ थरीका वनस्पतिहरु हालसम्म अन्य मुलुकमा नभेटिएको पुस्तकका लेखक एवं वनस्पतिविद् प्राडा केशवराज राजभण्डारीले बताए। ‘अरू देशमा नभेटिएका वनस्पतिहरुलाई नेपालको इन्डेमिक प्रजाति भनेका छौं,’ उनले भने।

पत्ता लागेका यी वनस्पतिहरु बारेको जानकारी ४५ वटा जिल्लाबाट संकलन गरिएको हो। यस्तै पत्ता लागेका वनस्पतिहरुमध्ये ३ सय ७८ वटा प्रजातिको नामकरण नेपालको नामसँग जोडेर राखिएको छ। पुस्तक प्राडा। राजभण्डारी र वनस्पति विभागका महानिर्देशक डा। सञ्जिवकुमार राई लगायत ६ जना वनस्पतिविद्ले तयार पारेका हुन्। ‘अहिले पत्ता लागेका वनस्पतिको जानकारी थप अध्ययन र शोध गर्नेका लागि सहयोगी हुन्छ,’ राईले भने, ‘किताबलाई अझ परिमार्जन गर्दै लैजाने योजना छ।’

वनस्पतिहरुको संरक्षणमा ध्यान दिनुपर्ने वनस्पतिविद् प्राडा तीर्थबहादुर श्रेष्ठको भनाइ छ। ‘सन् १८२० मा स्वयम्भूबाट पत्ता लागेका ५० भन्दा बढी वनस्पतिहरु अहिले भेट्टाउन मुस्किल छ,’ उनले भने, ‘विभागले निकालेको पुस्तक विशुद्ध वैज्ञानिक भए पनि यसलाई डी–कोड गरेर जनतामाझ लैजाने खालको बनाउनुपर्छ। जनताले थाह पाएमात्रै जोगाउन सम्भव हुन्छ।’

यसैबीच, वनस्पति विभागले हर्वेरियमका नमुनाहरुको अध्ययनको आधारमा तयार ‘अ हृयान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल भाग–२’ पनि मंगलबार सार्वजनिक गरेको छ। यसमा ६७ वनस्पति परिवारका १ हजार ४ सय ८० प्रजातिहरुको सूची, पहिचान, नामाकरण र वर्गीकरणको नविनतम पद्धति ९एन्जिओस्पर्म फाइलोजेनी ग्रुप ‘एपीजी’० अनुसार तयार गरिएको हो।

नेपालका वनस्पतिका नमुनाहरु विश्वका विभिन्न १७ मुलुकका ५९ हर्बेरियम संग्रहालयमा छन्। ती जानकारी पुस्तकमा समेटिएको छ। वनस्पतिविद्हरुका लागि यो किताब ‘गीता’ जस्तै रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागका पूर्वप्रमुख एवं बोटानिकल सोसाइटी अफ नेपालका अध्यक्ष प्राडा मोहन शिवाकोटीले बताए। ‘यो पुस्तकले नेपालको वनस्पतिक सम्पदाको उपयोग र दीगो व्यवस्थापनमा मद्दत पुग्छ,’ उनले भने।

फ्लोरा अफ नेपाल लेखन कार्यमा सघाउ
यो पुस्तकले फ्लोरा अफ नेपाल लेखन कार्यमा सघाउ पुर्‍याउने विभागले जनाएको छ। सन् २०१७मा फ्लोरा अफ नेपाल प्रकाशनको सातौँ अन्तर्राष्ट्रिय सम्पादक मण्डलको बैठकले बृहत् फ्लोरा अफ नेपाल लेखन कार्यका लागि नयाँ ‘अपडेटेट चेकलिस्ट’को आधारमा फ्लोरा अफ नेपाल लेखनको कार्य गर्नुपर्ने औंल्याएको थियो। यसअघि सय वर्ष पुरानो चेकलिस्टको आधारमा एउटा अंक प्रकाशित भएको थियो।

विभागले अपडेटेट चेकलिस्टको आधारमा यो हृयान्डबुक प्रकाशन गरेको हो। विभागलाई ३ वटा भोलुममा रहेर हृयान्डबुक प्रकाशन गर्ने जिम्मेवारी दिइएको छ। विभागले नामाकरण तथा वर्गीकरणको नविनतम पद्धति अनुसार हेर्बरियम डाटामा आधारित चेकलिस्टको प्रथम भाग सन् २०१७मा ‘अ हृयान्डबुक अफ द फ्लावरिङ प्लान्टस अफ नेपाल भोल–१’प्रकशित गरेको थियो। उक्त भोलमा १७१५ प्रजातिका वनस्पतिको विवरण प्रकाशित गरिएको थियो। विभागले अर्को भोल सन् २०२०सम्म प्रकाशित गर्ने तयारी गरेको छ।

यसैबीच फ्लोरो अफ नेपाल प्रकाशनको ढिलाइ भइरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सम्पादक मण्डलको आठौँ बैठकमा असोज ६ र ७ गते काठमाडौंमा बस्दै छ। बैठकले हालसम्मका कामको समीक्षा गर्ने र प्रगतिबारे जानकारी लिने बताइएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!