कामै नगरी तलब बुझ्छन् कर्मचारी

अर्जुन बोहरा 
हुम्ला ः स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलबभत्ता लिइरहेका छन्। सदरमुकामबाहिर, टाढा र दुर्गममा स्थानीय तहका कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब बुझिरहेको भेटिएको हो। अधिकांश स्थानीय तहका कर्मचारीले सदरमुकाम सिमकोटमै बसेर तलब बुझ्दै आएको पाइएको छ।
यहाँका स्थानीय तहका अधिकांश कर्मचारी त्यहाँ छैनन्। विभिन्न बहानामा उनीहरू जिल्ला बाहिर बस्ने गरेका छन्। तर उनीहरू कार्यालयमा उपस्थित नै नभइ तलब भत्ता भने नियमित बुझिरहेका छन्। राज्यले तोकेको तहमा खटाएका कर्मचारीले हिजोआज सरमुकाममै बसेर हाजिरी गर्दै आएका हुन्। जिल्लाको सर्केगाड गाउँपालिकाका नासु कमानसिंह धामी र खरिदार मेघनाथ शाही गत वैशाखदेखि कार्यालय गएका छैनन्। गाउँपालिकाको हाजिरी खातामा उनीहरूको हाजिर पनि छैन। तर दुवै जनाले यो अवधिको तलब र सुविधा भने लिइसकेका छन्।
सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेशप्रसाद पाण्डे पनि कार्यालय नजाने गरेको पाइएको छ। हाजिरी रजिस्टरमा उनले हाजिर गरेका छैनन्। तलब र भत्ता भने लगिसकेका छन्। उनले रजिस्टरको एउटा पानामा अग्रिम एकमुस्ट हाजिर गरेर सदरमुकाम र जिल्ला बाहिर जाने गरेको स्रोतको भनाइ छ। अर्को पानामा भने कहिलेकाहीं मात्र हाजिर गरेको भेटिएको हो।
सर्केगाड गाउँपालिकाको वडा नम्बर १–८ सम्म विभिन्न पदमा कार्यरत स्थायी र अस्थायी गरी ४० कर्मचारी छन्। अधिकांश कर्मचारीले यसरी कामै नगरी सेवा सुविधा लिँदै आएका छन्। गाउँपालिकाका स्वाथ्य संयोजक सन्तोष धामीले समेत आफ्नो अलग्गै हाजिरी रजिस्टर बनाएका छन्। उनी रजिस्टर साथमै लिएर हिँड्ने गरेको स्थानीय बताउँछन्। नासु रविन्द्र शाही, आयुर्वेद अस्पतालका कविराज तिलकजंग जनैदार र महिला शाखा प्रमुख तेजकुमारी रेग्मीसमेत कार्यालयमा नियमित हाजिर छैनन्।
‘सदरमुकाम सिमकोटमै हाम्रो सम्पर्क कार्यालय छ, यही कार्यालयबाटै गाउँपालिकाको काम गरिरहेका छौं’, गाँउपालिकाका सहलेखापाल हिमाल रोकायाले भने, ‘जहाँबाट भए पनि काम गरेकै छौं, गाउँ नै गएर किन हाजिर गर्नुपर्यो र रु ’ स्थानीय धनबहादुर बोहराले भने, ‘गाउँपालिकामा न कर्मचारी भेटिन्छन्, न त जनप्रतिनिधि नै। गाउँपालिका कार्यालय सहयोगीकै भरमा हुन्छ, हामी सेवा लिन सदरमुकाम नै पुग्नुपर्छ।’ उनले संघीयताले गाउँ छुन नसकेको गुनासो गरे। सदरमुकाम सिमकोटबाटै गाँउको काम गर्ने हुम्लाको समस्या संघीयतापछि पनि सुध्रिएको छैन।
स्थानीय दुल्ली गाँउका खम्पा थापाले भने, ‘हाजिर त परै जाओस्, कर्मचारी वर्षको २र४ पटक मात्र मुख देखाउन आउँछन्। काम नगरी तलब खाने उनीहरूलाई सरकारले किन कारवाही गर्दैन रु ’ गाउँपालिका उपाध्यक्ष जोशी धामीले कर्मचारी अनुपस्थित भएको आफूलाई थाहा नभएको बताए। ‘यस विषयमा सोधीखोजी गर्छु, सत्य रहेछ भने कारवाही हुन्छ’, उनले भने, ‘काम नगर्नेको तलब रोकिन्छ तर अहिले कर्मचारी अभावले समयमै सेवा प्रवाह गर्न समस्या छ।’







