रोजगार गर्ने ब्यक्तिले अनिवार्य पान नम्बर ल्याएपछि एक महिनामा एघार हजारले

बाँके : सरकारले व्यक्तिगत आय शुल्क (पिआइटी) अनिवार्य गरेपछि व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिने सर्वसाधारणको संख्या ह्वात्तै बढेको छ।

सरकारले २०७६ साउन १ देखि रोजगार गर्ने व्यक्तिले पनि अनिवार्य पान नम्बर लिनुपर्ने प्रावधान कार्यान्वयमा ल्याएपछि एक महिनामा ११ हजार सर्वसाधारणले पान लिएको आन्तरिक राजस्व कार्यालय, नेपालगन्जका प्रमुख प्रकाश पौडेलले जानकारी दिए।

चालु आर्थिक वर्षको साउनमा ११ हजार जनाले व्यक्तिगत पान नम्बर लिएको उनले बताए। कार्यालयमा व्यक्तिगत पान लिनेको घुइँचो घटेको छैन। राज्यलाई कर तिर्नुपर्छ भन्ने सचेतना बढेका कारण सर्वसाधारण स्वस्फूर्त रुपमा पान लिन आएको कार्यालय प्रमुख पौडेलले बताए। पिआइटीको व्यवस्था २०६७ सालदेखि लागु भए पनि यसअघि थोरैले मात्र पान लिएका थिए।

उनले भने, ‘१० वर्षको अवधिमा २८ हजारले मात्र व्यक्तिगत पान लिएको देखिन्छ।’ कार्यालयका अनुसार बाँके र बर्दियाका ३७ हजार ७७९ जनाले बिजनेश पान र व्यक्तिगत पान लिएका छन्। बर्दियाको तुलनामा बाँकेमा पान नम्बर लिनेको संख्या बढी छ। बाँकेमा ठूला उद्योग, कारखाना र ट्रेडिङ स्थापना हुने क्रम बर्सेनि गएको र राजस्व संकलन पनि धेरै हुने गरेको छ।

आर्थिक वर्ष २०७५/७६ मा आन्तरिक राजस्व कार्यालय, नेपालगन्जलाई तीन अर्ब ५१ करोड रुपैयाँ लक्ष्य दिइएको थियो। कार्यालयले लक्ष्यभन्दा आठ करोड रुपैयाँ बढी तीन अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षमा पाँच अर्ब १० करोड रुपैयाँ लक्ष्य तोकिएको प्रमुख राजस्व अधिकृत प्रकाश पौडेलले जानकारी दिए।





error: Content is protected !!