बहुउद्देश्यीय गौशाला निर्माण

सुर्खेत ः वीरेन्द्रनगरमा छाडा पशुको सङ्ख्या बढ्न थालेपछि नगरपालिकाले बहुउद्देश्यीय गौशाला निर्माण गरेको छ । प्रदेश सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र निजी क्षेत्रसँगको सहकार्यमा नगरपालिकाले सो गौशाला निर्माण गरेको हो ।
वीरेन्द्रनगर–११ चारकुनेमा केपी व्यावसायिक सेवा प्रालिले दुई बिघा जग्गा भाडामा लिएर गौशाला सञ्चालन गर्ने तयारी गरेको छ । गौशाला नहुँदा छाडा चौपायाका कारण सवारी चालक, पैदल यात्रु लगायतले सास्ती खेप्नु परेको थियो । प्रालिले भदौको पहिलो हप्तादेखि नगर क्षेत्रमा रहेका छाडा पशु चौपायालाई नियन्त्रणमा लिने जनाएको छ । प्रदेशको राजधानीमा जताततै पशु चौपाया छाडा छाडिएको र तिनको व्यवस्थापन नगरेको भन्दै नगरपालिकाको आलोचना हुने गरेको थियो ।
नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले छाडा पशुचौपाया व्यवस्थापनका साथै जैविक मल, विषादी र बायोग्यास प्लान्ट उत्पादन गर्ने गरी नमूना गौशाला निर्माण गरिएको बताउनुभयो । “छाडा चौपाया नियन्त्रण गर्ने जिम्मा नगरपालिकाको हो, छाडा चौपायाले सडक दुर्घटना बढाएको थियो”, उहाँले भन्नुभयो, “गौशालामै सीमित नगरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा बायोग्यास प्लान्ट, जैविक मल तथा विषादी उत्पादन गर्ने योजना छ ।” गौशाला सञ्चालनले छाडा छाडिएका घाइते पशु चौपायाको उद्धार तथा उपचार हुने उपप्रमुख ढकालको भनाइ छ ।
बहुउद्देश्यीय गौशाला निर्माणमा केपी व्यावसायिक सेवा प्रालिको ६० तथा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ४० प्रतिशत लगानी रहेको छ । त्यस्तै जैविक मल, विषादी र बायोग्यास प्लान्ट उत्पादनका लागि प्रालिले ६० तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत लगानी गर्नेछन् ।
प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले नगरबाट जैविक फोहर सङ्कलन गरी गौशालामा मल र बायोग्यास उत्पादन गर्ने बताउनुभयो । पहिलो चरणमा रु एक करोडभन्दा बढी लगानी भइसकेको उहाँको भनाइ छ । दोस्रो चरणमा जैविक मल तथा विषादी र बायोग्यास उत्पादन गरिनेछ ।










