रुकुम पूर्वमा एक वर्षमा ३८ जनाको ज्यान गयो

रुकुम ः एक आर्थिक वर्षको अवधीमा रुकुम पूर्वमा ३८ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले आर्थिक वर्ष २०७५र७६ मा घटेका घटनाहरूको सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
प्रहरीका अनुसार २ वटा जिप र ५ वटा ट्याकटर दुर्घटनामा परि १५ जनाको मृत्यु भएको छ। जसमा १० जना पुरुष र ५ महिला छन्। दुर्घटनामा पुरुष ६ र महिला ५ गरी ११ जना घाइते भए। प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार एक आर्थिक वर्षमा सबै दुर्घटना गरी ३८ जनाको मृत्यु भएको हो। जसमा पुरुष २० जना, महिला १३ जना, बालक ४ जना र बालिका १ जना गरी ३८ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले आर्थिक वर्ष २०७५र०७६ को विभिन्न आफ्नो गतिविधिसम्बन्धी विवरणसहित गरेको सार्वजनिक सुनुवाइमा अवैध घरेलु भरुवा बन्दुक संकलनमा पुथाबाट १ सय ४१ नाल, सिस्नेबाट ११ नाल र भूमे गाउँपालिकाबाट १ नाल गरी जम्मा १ सय ५३ नाल संकलन गरिएको जानकारी दिइयो।
त्यसैगरी, गत आर्थिक वर्षमा अवैधरूपमा गरिएको १५ विगाहाको गाँजा, १७।५ रोपनी अफिम खेती नष्ट गरिएको छ। त्यस्तै, पुथामा ५ रोपनी जग्गामा गरिएको अफिम खेती पनि नष्ट गरिएको छ। रुकुम पूर्व जिल्ला नयाँ संरचना भएको हुनाले विभिन्न समस्या तथा अभावका बाबजुत काम गरिराखेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख खड्काले बताए।
‘अहिले सम्ममा जिल्लामा कारागार छैन्, धेरै दरबन्दी खाली छन तत्कालीन इलाका प्रहरी कार्यालयको भवनमा बसिराखेका छौँ’ उनले भने, ‘आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएमा कामकाज चुस्त हुनुका साथै कार्यसम्पानमा सहज पुग्ने छ।’










