पर्यटनको गुरु योजना बनाउन विज्ञ टोली जाजरकोट

जाजरकोट , पर्यटन, उर्जा र जडिवुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले पर्यटन गुरु योजना निर्माण गर्ने भएको छ। सन् २०२० लाई भ्रमण बर्षका रुपमा मनाउने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार कर्णाली प्रदेश सरकारले पर्यटन गुरु योजना निर्माण गर्न लागेको हो। पर्यटन गुरु योजना निर्माण गर्नका लागि कर्णाली प्रदेश सरकारले ६ जना प्राविधिक विज्ञहरुको टोलीलाई पयिरचालन गरिएको छ।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयद्बारा निर्माण गर्न लागिएको पर्यटन गुरु योजना निर्माणमा कार्यरत प्राविधिकको टोली अहिले कर्णाली प्रदेशका जिल्ला–जिल्लामा योजना तर्जुमा गोष्ठीमा जुटीरहेका छन्। यसैक्रममा जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा योजना छलफल भएको छ। जाजरकोटमा भएको छलफलबाट ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेका र प्राकृतिक सुन्दरताले भरिएका झण्डै ७५ वटा भन्दा बढी पर्यटकीय स्थलहरूको नाम सूचीकृत गरेको पर्यटन गुरुयोजना निर्माणका समुहका प्रमुख रामचन्द्र सेडाइँले जानकारी दिए। त्यसैगरी उक्त छलफलले साहसिक पर्यटनका लागि र्‍याप्टिङ र पदमार्गलाई छनोट गरिएको छ। जाजरकोटको परिबगरदेखि छेडाचौरसम्म भेरी नदी जलयात्रा छनोट गर्ने क्रममा रिम्ना र छेडाचौरलाई जलयात्राको बास स्थान छनोट गरिएको समूहका प्रमुख सेडाइँले बताए।

भेरी नदी आसपासमा रहेका तल्लुबगर, मन्मै, कालीमाटी, रिम्ना, कालेगाउँ, कुदु, फेरा, आली लगाएका ठाउँहरूमा होटल, भलिबल तथा व्याटमेन्टन फिल्ड लगायतका विभिन्न मनोरञ्जनात्मक स्थलहरू बनाउन प्रस्ताव गरेको छ। गोष्ठीले जुम्ला र डोल्पा जिल्लालाई जोड्नका लागि चाखुरे र नदईडाबलाई पदमार्गमा छनोट गरेको छ। छेडागाडको थलह–राजीकोट हुँदै नदईडाब पदमार्गले जुम्ला जिल्लालाई मात्र जोड्ने भएको छ भने खलंगा–पाँचकाटिया, सिल्पाचौर–रामीडाडाँ–घाट हुदै जाने चाखुरे पदमार्गले जुम्ला र डोल्पा जिल्लालाई जोड्ने भएको छ।त्यसैगरि बारेकोट गाउँपालिका–१ सिल्पाचौरलाई मुख्य होम स्टे स्थलका रुपमा छनोट गरेको छ भने कुशे गाउँपालिका–५ ढिमे र नलगाड नगरपालिका–५ खानटाकुरालाई सहायक होम स्टे स्थलका रुपमा छनौट गरेको छ।

भौगलिक रुपमा कर्णाली प्रदेको केन्द्र विन्दुमा जाजरकोट जिल्ला रहनु, भारत र चीनलाई जोड्ने त्रिदेशीय दूर्तमार्गका रुपमा रहेको भेरी करिडोर जाजरकोट जिल्ला भएर डोल्पा जानु, १७ सय ७६ किलोमिटर लम्बाइ रहेको मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा ८२ किलोमिटर दुरी रहनुलाई पर्यटन विकासको सम्भावनामा राखिएको छ। विश्वकै उत्कृष्ट बहुमूल्य काइनाइट, टुर्मालिन, गार्नेट, रुवी लगाएतका रत्नपत्थरको भण्डार स्थल रहेको जाजरकोटमा पाइने फलाम, तामा, ग्राफाइड जस्ता खनिजलाई पनि पर्यटन विकासका पिल्लरका रुपमा लिने गरिएको छ।

डोल्पा जिल्लाको गेट वे को रुपमा रहेको जाजरकोटको जलासययुक्त नलगाड हाइड्रोपावरले जिल्लाको पर्यटन विकासमा योगदान गर्न सक्ने अनुमान गरिएको छ भने, विभिन्न जंगलमा पाइने ५० भन्दा बढी प्रजातिका बहुमूल्य जडिवुटी, विश्वकै दुलर्भ वन्यजन्तु रेडपाण्डा, सुनगिद्ध, चिरकालिज, जलेवा, डाँफे, मुनाल, कस्तुरी लगायतका जनावर र पंछीले पनि पर्यटन विकासमा सहयोग गर्ने बुझाई राखिएको छ। छेडाखोलाका माछा, पाली, कल्पत र मैदेको कात्तिके मह र बारेकोटी गाभालाई जाजरकोटको परिचयका रुपमा राखिएको छ।

जिल्लाको पर्यटन विकासमा योगदान गर्न सक्ने निजी क्षेत्रलाई प्रवद्र्धन गर्न होटल ब्यवसायीलाई सरकारले अनुदान दिने ब्यवस्था गर्नु पर्ने, पर्यटन उद्योगमा काम गर्ने मानवीय क्षमता विकासका लागि विभिन्न सीप विकास तालिमको आयोजना गर्नुपर्ने, पूर्वाधार विकासका योजना बनाई निर्माण कार्य सम्पन्न गर्नुपर्ने जिल्लाबासीले माग राख्दै आएका छन्।




सम्बन्धित समाचार


error: Content is protected !!