जाजरकोटमा निशुल्क पाठेघर अप्रेशन

नन्दा शाही
जाजरकोट , २४ जेठ ः जाजरकोटमा पछेल्लो समय पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क अप्रेशन हुन थालेको छ। सामान्य रोगको संक्रमण हुँदा सुर्खेत र नेपालगंजका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जानुको विकल्प नरहेका महिलालाई अब केहि राहत मिलेको छ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक एवं जिल्ला अस्पताल , स्वास्थ्य कार्यालय जाजरकोटको समन्वयमा पाठेघर खस्ने समस्या भएका महिलाहरुको जाच र निशुल्क शल्यक्रिय गर्न थालेको हो।

जिल्ला अस्पतालमै निशुल्क उपचार गर्न पाउने खवरले गाउँका महिलाहरु हर्षित बनेका छन् । मन्त्रालय सँगको सहकार्यमा जाजरकोटको लागि निशुल्क उपचार गर्ने सम्झौता अनुसार शिविर सञ्चालन गरी उपचार गरिएको अस्पतालका निर्देशक धर्मराज गोसाईले जानकारी दिनुभयो । गोसाईले भन्नुभयो , “अब जाजरकोटका महिलाले पाठेघर खस्ने समस्याका कारण अकालमा मृत्यु पर्खनु पर्ने छैन र पाठेघरको शल्यक्रियाका लागि महंगो रकम तिर्नु पनि पर्दैन।’
पाठेघर समस्य भएका महिलाको संख्या बढ्दो क्रममा छ । निर्देशक गोसाई भन्नुहुन्छ , “सानै उमेरमा विवाह गरेर वच्चा जन्माउनु,गह्रुंगो भारी बोक्नु–बोकाउनु,बच्चा अवस्थामा धेरै काम गर्नु र स्वास्थ्यको उचित ख्याल नहुनु जस्ता कार्यले पाठेघर खस्ने समस्याले ग्रसित महिलाको संख्या निकै बढि छ।’

पाठेघर खस्ने समस्या भएका महिलाको शारीरिक र मानसिक दुवै समस्य देखिन पुग्छ । एउटा महिलाको पाठयघरको अप्रेशनका लागि न्युनतम १५ देखि २० हजार रुपैयाँ सम्म खर्च हुने गरेको छ। जाजरकोटमा जेठ १९ देखि जेठ २४ सम्म शिविर सञ्चालन भएको छ । २०० जनाले शिविरमा आएर जाँच गराएका छन् ।
४ जनाको शल्यक्रिया भएको छ । गाउँ , गाउँमा प्रचार , प्रशार नहुँदा पाठेघरका विरामीले सम्पर्क गर्न नसकेको शिविरका संयोजक डाक्टर राजिव शाहले बताउनुभयो । जाजरकोटमा पाठेघर खस्ने समस्य धेरै भएपनि खासै विरामी सम्पर्कमा नआएको उहाँको भनाई छ । कर्णालीका विकट वस्ती र गाउँका महिलाले घर नजिकै सेवा लिन सजिलो होस भनि शिविर गरिएका लाभ उठाउन सवैमा अनुरोध गरिएको प्रतिष्ठानका सिनेट सदस्य सत्य पहाडीले बताउनुभयो ।





error: Content is protected !!