स्वच्छ वातावरण सबैको पहिलो शर्त बन्नुपर्छ ः मन्त्री बस्नेत




नेपालगञ्ज, ः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विश्वको वातावरण सन्तुलन बनाई राख्न प्रत्येक व्यक्तिको सकारात्मक भूमिका हुनुपर्ने बताउनुभएको छ ।
विश्व वातावरण दिवसका अवसरमा आज यहाँ प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वातावरण बिग्रन नदिन संस्थागत, समूहगत र एकल प्रयास आवश्यक हुने विचार व्यक्त गर्नुभयो ।
“यस वर्षको विश्व वातावरण दिवसको नारा ‘स्वच्छ वायु, स्वस्थजीवन’को नारालाई सार्थक बनाउन सरकारले सरोकारवाला पक्षसँग मिलेर काम गर्ने योजनाबनाएको छ”, उहाँले भन्नुभयो । वातावरणको सुरक्षा सबैको पहिलो शर्त बन्नुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले सरकारले नै सबैथोक गर्छ भन्ने प्रवृत्ति भयो भने हामी कुनै पनि लक्ष्यमा पुग्न सक्दैनौँ भन्नुभयो ।
यसअघि वन तथा वातावरण मन्त्रालयको अगुवाइमा नेपालगञ्जमा गरिएको प्रभातफेरीमा मन्त्री बस्नेत, मन्त्रालयका सचिव विश्वनाथ वलीलगायत सरोकारवाला पक्षको सहभागिता थियो । नेपालगञ्ज बजार क्षेत्रको परिक्रममा गरेको प्रभातफेरीमा सहभागीले वातावरण जोगाउने नारासहितको प्लेकार्ड र व्यानर प्रदर्शन गरेका थिए ।
वृक्षारोपन गरेर जाजरकोटमा ४७ औं विश्व वातावरण दिवस मनाईएको छ । डिभिजन वन कार्यालय, जाजरकोटको हाता भित्र वृक्षारोपन गरेर ४७ औं विश्व वातावरण दिवस मनाईएको हो ।
“स्वच्छ वायु, स्वस्थ जीवन” भन्ने मुन नारा सहित डिभिजन वन कार्यालय, जाजरकोटको आयोजनामा दिवस मनाउनुको साथै वृक्षारोपन गरिएको थियो । वृक्षारोपन गरिएका बिरुवाहरुमा अशोक, क्रिसमस ट्री, कपुर लगाएतका विभिन्न प्रजातिका ६० वटा विरुवा वृक्षारोपन गरिएको डिभिजन वन अधिकृत महेश कुमाईले जानकारी दिए । साथै उक्त दिवसकै अबसरमा डिभिजन वन कार्यालयको हाताभित्र साल, सिसौं, आँप, टिक, खोटेसल्ला लगाएतका विभिन्न प्रजातिका १७ वटा रुखमा नाम ट्याक राखिएको छ ।
डिभिजन वन कार्यालयद्धारा औपचारिक रुपमा आयोजना गरिएको ४७ औं विश्व वातावरण दिवसका प्रमुख अतिथि बृहत जलाधार केन्द्र कर्णाली प्रमुख श्याम प्रसाद न्यौपानेले क्रिसमस ट्री को विरुवा रोपन गरेर वृक्षारोपन कार्यक्रमको सुरुवात गरेका थिए । त्यसैगरि निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु सहनीले सालको रुखमा ट्याक लगाएर विभिन्न प्रजातिका रुखमा नाम ट्याक राख्ने कामको सुरुवात गरेका थिए ।
जलवायुजन्य प्रकोपका कारण मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभावलाई सुधार गर्न प्रत्येक नागरिकहरुले बोट, विरुवा लगाएर वातावरणलाई सन्तुलित गर्नुपर्ने धारणा राखेका थिए ।
विगतका बर्षहरुमा मनाईने विश्व वातावरण दिवसमा जिल्ला प्रशासन कार्यालय, बिपी बाटिका लगाएतका ठाउँमा वृक्षारोपन गर्ने गरिएको भएतापनि यस बर्ष वृक्षारोपनका लागि प्रतिकुल मौषमका कारण डिभिजन वन कार्यालयको हाता भित्र वृक्षारोपन गर्नु परेको डिभिजन वन कार्यालय, जाजरकोटले जनाएको छ ।
तस्वीर ः वन तथा वातावरण मन्त्रीको निजि सचिवालय तथा सांसद सत्य पहाडीबाट ।










