दोस्रो पटक जसले संसार देखे

जाजरकोट  (रासस) ः छेडागाड नगरपालिका – ३ का रत्न सिंह अहिले ६१ वर्षको हुनुभयो । उहाँले ५१ वर्षको उमेर देखि संसार देख्न छोड्को बताउनुभयो । अहिले ११ वर्ष पछि सिंहले दोस्रो पटक संसार , आफन्त देख्न पाउँदा खुसी हुनुभएको छ ।
नाती ६ महिनाको हुँदा आँखा देख्न छाडेका सिंहले अहिले करिव १२ वर्षको नाती हुँदा आवाज मात्र सुनेका उहाँले अहिले विद्यालय गएर फर्कने अवस्थामा नाती देख्न पाउँन खुसीले सिमा नै नरहेको बताउनुभयो । आँखा देख्ने भएपछि घरमा गई सिंहले खसी नै काटेर खाएको बताउनुभयो । सोही ठाउँकै सिर्जना विकले करिव ५ वर्ष पछि आँखा देख्न पाउन पाउँदा खुसी भएको बताउनुभयो । आँखा नदेख्दा सवैले हेप्ने , दुख दिने गर्दथे अव आँखा देख्ने भएपछि घरको काम देखि अरुलाई सघाउने सम्म भएको विकले बताउनुभयो ।
आँखा नदेख्दा नाती, नतिनाको सहारामा दैनिक हिड्डुल गर्ने विक अहिले साना नाती , नतीना हेर्ने काम गर्न थालेको बताउनुभयो । उनीहरु जस्तै ६६३ जनाले एकै पटक नयाँ संसार देख्न पाएको भन्दै खुसी भएका छन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र छेडागाड नगरपालिकाको संयुक्त आयोजनामा भएको आँखा शिविरमा आएर सेवा लिएपछि धेरैले नयाँ संसार देख्न पाएका हुँन् ।
दुर्गम गाउँमा कहिले पनि स्वास्थ्यकर्मी नभएर उपचार गर्न नपाएका र अर्थ अभावमा कारण रोग पालेर बस्न बाध्य भएका सर्वसाधारणले गाउँमै सेवा लिएर उपचार हुँदा खुसी भएको छेडागाड नगरपालिका – ४ का वलबहादुर सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो , “ यस्ता खालका शिविर पहिले भएका थिएन्न , गाउँमा त झन को पो आउँथ्यो र ? अहिले हाम्रा लालबहादुर महतरा सरकार भएपछि हामीले घर नजिकै उपचार गर्न मिलेको छ । ” अझै पनि दुर्गम गाउँमा आँखाका विरामी भएपनि उपचार नपाएर अर्काको सहारा लिन बाध्य भएको उहाँको भनाई छ ।
सामाजिक विकास मन्त्रालयको सहकार्यमा जाजरकोटका स्थानीय तहले स्वास्थ्य शिविर गर्दै आएका छन् । अर्थ अभाव भएका , अशक्त , अपाङता भएका व्यक्तिले बढी शिविरबाट सेवा लिएको छेडागाड नगरपालिका स्वास्थ्य शाखाका भीमराज सिंहले जानकारी दिनुभयो ।
–––हेमन्त केसी





error: Content is protected !!