समन्वय अधिकारी नहुँदा सेवा प्रभावित

जाजरकोट ,जिल्ला समन्वय समितिको कार्यालय जाजरकोटमा समन्वय अधिकारीको पद रिक्त भएको दुई महिना वितेको छ ।
समन्वय अधिकारी नहुँदा सरकारी सेवा प्रवाहमा समस्या भएको छ । गत चैतमा तत्कालिन समन्वय अधिकारी कमल राज भण्डारी सरुवा भएर गएपछि उक्त पद रिक्त भएको हो ।
समन्वय समितिको कार्यालय दुई महिनादेखि एक जना खरिदारको भरमा सञ्चालन हुदै आएको छ । कार्यालयमा समन्वय अधिकारी नहुँदा योजनाको सम्झौता तथा निर्माण, अनुगमन, अन्तरक्रिया, छलफल लगायत दर्जन कार्य अलपत्र परेको प्रमुख मनबहादुर रावलले बताउनुभयो ।
सम्बन्धित निकायमा समन्वय अधिकारी पठाइदिन पटक पटक आग्रह गर्दा पनि कसैले नसुनेको प्रमुख रावलले जानकारी दिनुभयो । यसै जिल्लाका कर्मचारी समेत समन्वय अधिकारी बनेर आउन नमान्दा थप समस्या भएको उहाँको भनाई छ ।








