जिन्दगी प्रवाह नगरी हिमालमा यार्साको खोजी सुरु

सुकमाया थापा
डोल्पा ः मुल्यावन जुटीको रुपमा परिचित यार्सागुम्वा डोल्पामा आज देखि संकलन सुरु भएको छ । यहाँका हिउँ पग्लिएका पाटनमा यार्सागुम्वा संकलनका लागि अनुमती खुल्ला गरिएको हो ।
जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार सोमबार भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत सत्तरी भन्दा धेरै यार्सापाटनहरू औपचारिकरूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए।
निकुञ्ज क्षेत्रभित्र पर्ने धो मा रहेका विभिन्न यार्सागुम्बा पाटनहरूमा हिँउ धेरै जमेकाले स्थानीय र यार्सासंकलकहरूसँग सल्लाह गरेर मंगलबार मात्रै पाटन खुलाइने निर्णय गरिएको छ। निकुञ्ज क्षेत्रभित्रका यार्सापाटनहरू औपचारिकरूपमा खुलेसँगै सर्वसाधारणहरू बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा जिन्दगी नै वाजी लगाएर जुटेका छन् ।
यार्सागुम्बाको खोजीका लागि पाटन पुगेका हजारौँ सर्वसाधारणहरु हिँउले सेताम्य पाटनहरुमा हिँउ बिलाएको ठाउँ यार्सा खोज्न थालेका हुन्। पाटन खुलेको पहिलो दिनमा जतिसक्दो धेरै यार्सागुम्बा टिप्ने अठोटकासाथ एकले अर्कालाइ उछिन्दै अगाडि बडिरहेको देख्न रुकुम आठविकासट नगरपालिका राडीकी भगवती शाहीले बताईन् ।
निकुञ्ज क्षेत्रभित्र पर्ने अधिकांश यार्सापाटन खुले पनि सामुदायिक वन क्षेत्रभित्र पाटनहरू केही पाटनहरु खुल्न सकेका छैनन्। यार्सापाटन खुलाउन आन्तरिक व्यवस्थापनमा समय लाग्ने भन्दै केही दिनभित्रै पाटनहरू खुलाइने सामुदायिक वनहरुले जानकारी दिएका छन्। अहिले सम्म रु १ करोड ५० लाख भन्दा बढी यार्सासंकलनकत्ताबाट रकम उठेको निकुन्जका छत्र खड्काले जानकारी दिए । जाजरकोट , रुकुम , जुम्लाका स्थानीयवासीहरु बढी यार्सागुम्वा संकलनका लागि आएको उनले बताए । अहिले सम्म ५ हजार भन्दा बढी यार्सा पाटनमा पुगेको खड्काले जानकारी दिए ।
शे फोक्शुण्डो राष्ट्रिय निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्क बार्फत मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणका लागि रु ५००, मध्यवर्ती क्षेत्र बाहेक जिल्ला भित्रका सर्वसाधारणका लागि रु २ हजार र जिल्ला बाहिरका सर्व साधारणका लागि रु ३ हजार दस्तुर तोकिएको छ। त्यस बाहेक मध्यवर्ती क्षेत्रहरूले सेवा शुल्कको रुपमा छुट्टै रु ५ सय लिन पाउने ब्यवस्था गरिएको छ। निकुञ्जले छोडपुर्जी दस्तुरबाफत रु ३० हजार तोकेकोे छ। पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महिनाको अवधि रहने निकुञ्जले जनाएको छ।
राष्ट्रिय निकुञ्ज भित्रका १५ नाकाहरुबाट प्रवेश गर्नेहरुलाई प्रवेश पुर्जी काटिएको शे फोक्शुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुम लगायतका १४ वटा स्थानबाट संकलन पुर्जी वितरण भइरहेको छ ।










