घोडा, खच्चड देखि संकलनबाट प्रवेश शुलक, स्थायी ठेगाना नखुलेमा यार्सागुम्वा संकलन गर्न नपाईने


सुकमाया थापा
डोल्पा , जेठ १३ मा यार्सागुम्वा संकलनका लागि अनुमती खुल्ला गरिने भएपछि सुक्रबार देखि प्रवेश शुल्क लिएर प्रवेश दिन सुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्वा संकलन पाटन तीर प्रवेश दिईएको छ ।
शे फोक्शुण्डो राष्ट्रिय निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्क बार्फत मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणका लागि रु ५००, मध्यवर्ती क्षेत्र बाहेक जिल्ला भित्रका सर्वसाधारणका लागि रु २ हजार र जिल्ला बाहिरका सर्व साधारणका लागि रु ३ हजार दस्तुर तोकिएको छ। त्यस बाहेक मध्यवर्ती क्षेत्रहरूले सेवा शुल्कको रुपमा छुट्टै रु ५ सय लिन पाउने ब्यवस्था गरिएको छ। निकुञ्जले छोडपुर्जी दस्तुरबाफत रु ३० हजार तोकेकोे छ। पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महिनाको अवधि रहने निकुञ्जले जनाएको छ।
निकुञ्जले जेठ १३ गतेदेखि औपचारिक रुपमा जिल्लाका सम्पूर्ण यार्सापाटनहरू खुलाउने निर्णय गरेको छ । १३ जेठ मा यार्सापाटन खुल्ला गरिने भएकाले १२ जेठ भित्र प्रवेश गरिसक्नु पर्ने भएकाले प्रवेश शुल्क लिएर संकलकलाई अनुमती दिईएको छ । राष्ट्रिय निकुञ्ज भित्रका १५ नाकाहरुबाट प्रवेश गर्नेहरुलाई प्रवेश पुर्जी काटिएको शे फोक्शुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकृत छत्र खड्काले राससलाई जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुम लगायतका १४ वटा स्थानबाट संकलन पुर्जी वितरण भइरहेको छ।
यार्सा संकलनको लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्ला लगाएतका अन्य जिल्लाहरुबाट सर्वसाधारणहरु आएको उहाँले बताउनुभयो । यो सिजनमा यार्सागुम्वा संकलन गरेर वर्ष भरी आफ्ना आधारभुत आवश्यकता पुरा गर्ने उनीहरुको भनाई छ । दैनिक आवश्यकता पुरा गर्नका लागि आफु यार्सागुम्वा संकलन गर्न आएको रुकुम आठविसकोट नगरपालिका ११ कि हिरा शाहीले बताउनुभयो ।
अघिल्ला वर्षहरुमा भन्दा यो वर्षमा राष्ट्रिय निकुञ्जले चोरी निकासी गर्नेहरु प्रति कडाइ गरेको छ । यार्सा संकलन कर्ताहरुले अनिवार्य रुपमा आफ्नो साथमा स्थायी ठेगाना खुल्ने नागरिकता वा परिचयपत्र लिएर आउनेलाई मात्र पाटन प्रवेश गर्न दिइएने छ ।
पाटनमा दैनिक खानका लागि खाद्यान्न लगायतका सामग्री लिनका लागि प्रयोग भएका घोडा खच्चरको रु १ सय ५० प्रवेश शुल्क लिइएको छ ।










