विश्वमै दुर्लभ सुन गिद्ध , सेतो गिद्धले चल्ला कोरल्यो

जाजरकोट ः विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका –५, पोखराको महादेवस्थान जङ्गलको सल्ली रूखमा लगाएको गुँडमा चल्ला कोरलेका हो ।
त्यस्तै विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले बारेकोट गाउँपालिका – ९ काप्तीको जङ्गलमा गुँड लगाएर चल्ला कोरलेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य एवं पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताउनुभयो ।
दुई र तीन वर्षअघि सुन गिद्धले सोही जंगलमा अण्डा काढे पनि चल्ला भने कोरल्न सकेको थिएन। स्थानीयका अनुसार सुन गिद्धले वर्षको एक पटक मात्र बच्चा कोरल्छ। जथाभावी वन फडानी, आगोलागी वन अतिक्रमणलगायतका कारण यसको बासस्थान नास भई संकटमा परेको छ।
विश्वमै संकटासन्ना अवस्थामा पुगेका दुर्लभ गिद्धले चल्ला कोरल्नु सुखद खबर भएको पंक्षी संरक्षणकर्मी गोविन्द सिंहले जानकारी दिनुभयो । जाजरकोटमा सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धको बासस्थान रहेको चराविद् बद्री बरालले बताउनुभयो । एक अध्ययनका अनुसार जाजरकोटमा हिमाली गिद्ध ७५, हाडफोर गिद्ध ६, सुन गिद्ध २ र सेतो गिद्ध ४ वटा फेला परेका छन् ।
पछिल्लो समय पशु उपचारमा प्रयोग गरिएको डाइक्लोफेनेक औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगेका छन्। यस जिल्लामा यो औषधि अन्य जिल्लाको तुलनामा कम प्रयोग हुने भएकाले यहाँ गिद्धको वासस्थानको दृष्टिकोणले उपयुक्त देखिएको चराविद् बरालको भनाई छ।
सेतो गिद्धले समुद्री सतहबाट एक हजार ५ सय मिटर उचाइमा रहेको जंगलमा चल्ला कोरलेको हो। गत फागुन पहिलो साता अण्डा पारेको सुन गिद्धले वैशाखमा चल्ला कोरलेको उहाँले जानकारी दिनुभयो । सुन गिद्धको बासस्थान रहेको महादेवस्थान गोठथात जंगलमा विगत पाँच वर्षदेखि अध्ययनका लागि महिनामा तीन पटक अध्ययन टोली गईरहेको छ ।







