यार्सा संकलनमा पनि कर्मचारीको बदमासी रकम लिएर पाटन अनुमति

टेकबहादुर शाही
डोल्पा ः डोल्पाका पाटनमा यार्सागुम्बा संकलनका लागि पाटन खुला हुनुभन्दा पहिला नै यार्सा संकलक पाटन पुग्ने गरेको खुलेको छ।शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको भित्री क्षेत्रमा पर्ने जगदुल्ला पाटनमा निकुञ्जकै कर्मचारीको मिलेमतोमा रातिराति यार्सा संकलक पठाउने गरेको पाइएको हो।
जगदुल्ला गाउँपालिकाका नागरिकले निकुञ्जलाई कर तिरेर यार्सागुम्बा संकलन गर्ने गरेको पाइएको छ।जगुदल्ला पाटनमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको तोइजम पोष्टका सिनियर गेमस्काउट हरिकृष्ण भण्डारीले मनपरी पूर्जि काटेर यार्सा संकलक छोड्ने गरेको स्थानीयको दावी छ।
भण्डारीले गाउँपालिका भित्रकालाई १ हजार र जिल्ला बाहिरकालाई ३ हजारका दरले पूर्जि काटेर रातिराति पाटन पठाउने गरेको स्थानीय रामचन्द्र बस्नेतले जानकारी दिए। उनी भन्छन्, ट्याक्टरमा छिमेकी जिल्ला जुम्लाबाट मानिस आउँछन्, कर्मचारीले रकम लिएर रातिराति पाटन पठाउँछन्। केही दिनअघि केही स्थानीय पक्राउ परेता पनि रकम बुझाएर उनीहरुलाई छोडिदियो।
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र पर्ने र स्थानीय सरकारसँग कुनै सहकार्य नगरेरै मनपरी रसिद लिने गरेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले आरोप लगाए। तोइजम पोस्टका कर्मचारीले अघिल्ला वर्षमा पनि मनोमानी गर्दा स्थानीयले दुस्ख पाएको र निकुञ्जको सुरक्षामा रहेको नेपाल आर्मी र निकुञ्जका कर्मचारीले स्थानीयलाई दुस्ख दिने गरेको स्थानीयको आरोप छ।
तोइजम पोस्टमा कर्मचारीले यार्सा संकलक छोडेको खबर आएपछि तत्काल जवाफ मागेको शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जका रेन्जर छत्र खड्काले बताए।उनले भने,ु यदि गलत भएको छ भने कारवाही हुन्छ। कार्यालयले रेन्जरका कर्मचारीसँग लिखित जवाफ मागेको खड्काले जानकारी दिए।
स्थानीयले भने निकुञ्जले दैनिक सयौं मानिस पाटनमा पठाउने गरेकाले अब स्थानीय चुप लागेर नबस्ने बताएका छन्।यार्सा संकलनका लागि आउँदो जेठ १३ गते जिल्लाका सबै पाटन खुल्ला गरिएका छन्।










