स्थानीय तहको केन्द्रबाट सेवा प्रवाह नहुँदा जनतालाई सास्ती

जाजरकोट — यहाँका गाउँमा पूर्वाधार पुगे पनि सेवा सुचारु हुन सकेको छैन । हाल स्थानीय तहमा भवन, सडक, खानेपानीलगायत पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । कतिपय स्थानमा यी पूर्वाधारहरू निर्माण पनि भइसकेका छन् । तर स्थानीयले सेवा पाउन सकेका छैनन् ।
कुशे गाउँपालिकाको केन्द्र थर्पु भार्ममा कार्यालय भवन निर्माण पुरा भइसकेको छ । कुशेको केन्द्र थर्प्रुसम्म सडक पनि पुगेको छ । लाखौं खर्चेर भवन, खानेपानी, सडक लगायत भौतिक संरचना बनाए पनि उक्त केन्द्रबाट सेवा भने सुचारु हुन नसकेको हो ।
कुशेले दुई करोड ५० लाखको लगानीमा केन्द्र थर्पुमा ६ वटा भवन बनाएको छ ।
त्यस्तै, केन्द्रसम्मै जिप, ट्याक्टरलगायत सवारी साधन गाडी पनि पुग्छन् । तर,जनताका लागि सेवा सुचारु छैन । कुशे गाउँपालिकाले सदरमुकाम खलंगाबाटै प्रवाह गर्दै आएको छ । भौतिक पूर्वाधारको अभाव भन्दै दुई वर्ष अघिदेखि खलंगाबाट सञ्चालन हुँदै आएको उक्त सेवा गाउँबाट प्रवाह नहुँदा दुर्गमका सेवाग्राहीलाई सास्ती भएको हो ।
गाउँबाट सेवा प्रवाह नगर्ने कुशे गाउँपालिका मात्र एक्लो छैन, जुनीचाँदे र बारेकोट गाउँपालिकाले पनि सदरमुकामबाटै सेवा सुचारु गर्दै आएका छन् । कुशे र बारेकोटले बैंकको कारण देखाउँदै खलंगाबाट सेवा सञ्चालन गर्ने गरेका छन् भने जुनीचाँदेले केन्द्र विवादका कारण देखाउँदै खलंगाबाट सेवा प्रवाह गर्दै आएको छ । असुरक्षाका कारण कुशे, बारेकोट र जुनीचाँदेमा बैंक सञ्चालन हुन सकेका छैनन् । बारेकोटको केन्द्र लिम्सामा कार्यालय भवन निर्माणाधीन छ भने चालु आर्थिक बर्षमै उक्त केन्द्र सडक सञ्जालमा जोडिने भएको छ ।
जुनीचाँदे यसअघि नै सडक सञ्जालमा जोडिएको छ । केन्द्र विवादका कारण भवन निर्माण हुन सकेको छैन । त्यस्तै उक्त गाउँपालिकाका अधिकांश वडा अध्यक्ष र वडा सचिवले वडा केन्द्रमा बसेर नियमित सेवा प्रवाह नगर्दा पनि स्थानीय बासिन्दा थप मर्कामा परेका छन् । वडापालिका तथा गाउँपालिका कार्यालयको सेवा सदरमुकामबाटै सुचारु हुने गर्दा दुर्गमका सेवाग्राहीलाई सेवा लिन कर्मचारी खोज्दै हैरान हुने गरेको छ ।
वडाध्यक्ष फेला परे सचिव फेला नपर्ने र सचिव फेला पर्दा अध्यक्ष फेला नपर्ने समस्याले सेवाग्राहीलाई सताउने गरेको कुशे गाउँपालिका९९ का किन्दर सिंहले बताए । बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिकाले हजारौं भाडा खर्चेर सदरमुकाममा सम्पर्क कार्यालय खोलेका छन् ।
जनप्रतिनिधि आएको दुई वर्ष वित्दा पनि सम्बन्धित स्थानीय तहको केन्द्रबाट सेवा सुचारु नहुँदा दुर्गमका सेवाग्राहीलाई विगत जस्तै सास्ती हटेको छैन । दुर्गमका सेवाग्राहीलाई पञ्जीकरण, बैकिङ कारोबार, नागरिकता सिफारिस, योजना सम्झौता तथा भुक्तानीलगायत कामका लागि सदरमुकाम धाउनुपर्ने वाध्यता नहटेकोसिंहले बताए । ‘सिंहदरबार गाउँगाउँमा आयो भनेको त झन भेटाउनै गाह्रो भयो,’ उनले भने, ‘सरकारी सेवा लिनका लागि कर्मचारी तथा जनप्रतिनिधि खोज्न गाउँदेखि खलंगाका कुनारकुनासम्म चाहार्नुपर्ने पुरानै अवस्था हट्ने, जनतालाई झन सास्ती भयो ।’
सुरक्षा र कर्मचारी अभावले नागरिकको सेवा प्रवाहमा बाधा पुगेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । जनतालाई भनेजस्तो सेवा दिन नसकेको अध्यक्ष शाहले बताए । जनतालाई दुःख हुनुको मुख्य कारण प्रहरी चौकी ९सुरक्षा० र बैंक सेवा नै भएको अध्यक्ष शाहले जनाए ।
कर्मचारी अभावमा एउटा वडा सचिवले चार वडा कार्यालयमा काम गर्नुपर्ने वाध्यता भएको उनले बताए । ‘विवाह, जन्म, मृत्यु, बसाइसराइलगायत पञ्जीकरण गर्न स्थायी कर्मचारी हुनुपर्ने प्राबधान छ,’ उनले भने, ‘अस्थायी तथा करारका कर्मचारीले पञ्जीकरणका काम गर्न मिल्दैन ।’ ती स्थानीय तहका वडा सचिवले पञ्जीकरणका लागि खाली कागजमा हस्त्ताक्षर गरेर गाउँगाउँमा पठाउने गरेका छन् ।
गाउँमा रहेका वडाध्यक्ष तथा करारका कर्मचारीले उक्त खाली कागजमा पञ्जीकरणको लागि सिफारिस गदै आएका छन् । गाउँमा स्थापना गरीएका वडा कार्यालयमा नियमित कर्मचारी नबस्दा सरकारी सेवा पाउन सास्ती भएको स्थानीय लक्षे दमाइले बताए । ‘गाउँमा कार्यालय स्थापना छ, तर कर्मचारी छैनन,’ दिमाइले भने, ‘जनप्रतिनिधि र कर्मचारी सदरमुकाम बस्ने भएकाले गाउँको वडा कार्यालयमा ताला लागेका छन् ।’ जनप्रतिनिधि र कर्मचारी सुविधाभोगी बन्दा अधिकांश स्थानीय तहले खलंगामा अघोषित कार्यालय स्थापना गरेको पाइएको छ ।
स्थानीय सरकार गठनसँगै परिवर्तनको आशा बोकेका जनता पछिल्लो समय निरास बन्दै गएका छन् । जनताको सेवा प्रवाहमा ढिलासुस्ती हुन नछाडेको दमाइले बताए । विगत २० बर्षदेखि कर्मचारीको झन्झटिलो कार्यशैली प्रति वाक्क स्थानीय निर्वाचित जनप्रतिनिधिबाट पनि सेवा पाउन सास्ती हुँदा निरास बनेका हुन् । ‘जनताले मागेको सडक, विद्युत, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकास हुनु त परको कुरा भयो,’ उनले भने, ‘सरकारी सेवा प्रवाहमा समेत अलमल छ । कान्तिपुरका खवर छ ।










