जाजरकोटमा सुन्तला जोन क्षेत्र विस्तार

हेमन्त केसी 
जाजरकोट, ५ बैशाख ः सरकारले ५ करोडभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलाका लागि आत्मनिर्भर बनाउनका लागि क्षेत्र विस्तार गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जाजरकोटलार्ई सुन्तला जोनको रुपमा विकास गरी अघेल्लो वर्ष देखि लागु भएको सुन्तला जोन यो वर्ष थप क्षेत्र विस्तार भएको छ ।
सरकारले गत वर्षदेखि सुरु गरेको उक्त परियोजना अन्तर्गत जाजरकोटका नलगाड नगरपालिका र कुशेगाउँपालिकामा विस्तार भएको उक्त कार्यक्रम यो वर्ष देखि जिल्लाको भेरी नगरपालिका र छेडागाड नगरपालिका र नलगाड नगरपालिकाको वडा विस्तार भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न उत्पादनका आधारमा मुलुकका ४१ जिल्लालार्ई जोनको रुपमा विकास गर्ने क्रममा जाजरकोटलार्ई सुन्तला जोनको रुपमा विकास गरी थप क्षेत्र बिस्तार गरिएको परियोजनाका वरिष्ट कृषि विकास अधिकृत टंकप्रसाद रिजालले बताउनुभयो । परियोजना अन्तर्गत जिल्लामा सञ्चालन हुन लागेको सुन्तला जोनबारे जानकारी दिँदै रिजालले एक हजार हेक्टरमा तरकारी तथा फलफूल खेती हुने जिल्लालार्ई सुपरजोन र पाँच सय हेक्टरमा खेती हुने जिल्लालार्ई जोनको रुपमा पहिचान गरी परियोजना सुरु भएको बताउनुभयो ।
रिजालका अनुसार सरकारले गत वर्ष र यो वर्ष गरी तरकारी, फलफूल र अन्य उत्पादनको खेतीका लागि जोनको रुपमा छनोट गरेका ४१ जिल्लामध्ये जाजरकोट सुन्तला जोनको रुपमा छानिएर क्षेत्र विस्तार भएको हो । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतका अनुसार जिल्लाको कुशे गाउँपालिकाको पूरै, भेरी नगरपालिकाको वडा नम्बर २ र नलगाड नगरपालिकाको वडा नम्बर ३ को पूरै क्षेत्रलाई समेटेर सुन्तला जोन बनाइएको थियो भने, यो वर्ष देखि छेडागाड नगरपालिका –११, १२ ,भेरी नगरपालिका – ५ र ६ , नलगाड नगरपालिका –२ , ५ लाइ थप गरेर कार्यक्रम सुरु भएको छ । यसअघि सरकारले झापालाई धान, बारालाई माछा, काभ्रेलार्ई आलु, कास्कीलाई तरकारी, दाङलार्ई मकै, जुम्लालार्ई स्याउ, कैलालीलार्ई गहुँ र डडेल्धुरालार्ई आलुका लागि सुपर जोनको रुपमा घोषणा गरेको छ । जाजरकोटमा यसै वर्ष देखि मौरी जोन समेत लागु भइसकेको छ ।
जोन अन्तर्गत आलु, सुन्तला, माछा, स्याउ, जुनार, तरकारी, अदुवा, अलैंची, तरकारी बिउ, तेलहन बाली धान, जैतुन, मकै लगायत बाली तथा फलफूल र तरकारीको व्यावसायिक उत्पादन हुने योजना निर्माण गरिएको छ । १० वर्षको अवधि लिएर सुरु गरिएको परियोजनाले प्रमुख कृषि उपजको विशिष्टिकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुको मूल्य अभिवृद्धि गर्दै किसानको प्रतिष्पर्धात्मक क्षमता विकास गर्ने र कृषिलार्ई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्ने उद्देश्य लिइएको परियोजनाको जाजरकोट इकाइ प्रमुख समेत रहेका रिजालले बताउनुभयो ।
परियोजनाअन्तर्गत कस्टम हाइरिङ सेन्टर तथा पोस्ट हारबेस्ट सेन्टर नाम दिएर विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । किसानलार्ई विभिन्न प्रविधि तथा साधन सहयोग गराउँदै उनीहरुले उत्पादन गरेका सुन्तलालार्ई बजारसम्म पु¥याउन र बिक्री गर्नका लागि बजारीकरणको काममा सहयोग पुर्याउने परियोजनाको उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

जाजरकोटमा सुन्तला खेती गर्ने किसानको सङ्ख्य १ हजार ४ सय भन्दा बढी रहेको छ । ८ सय हेक्टर जमिनमा सुन्तला खेती गरिदै आएको परियोजनाले बताएको छ । सुन्तला जोन क्षेत्रमा यो आर्थिक वर्षमा मात्र रु ६० लाखको ३९ वटा सिँचाइ योजना बनाएर निर्माण कार्य जारी रहेको कार्यालयका विश्वमित्र शर्माले बताउनुभयो ।
परियोजना अन्तर्गत उत्पादन प्रविधि प्रदर्शन तथा शिक्षालय सञ्चालनको कामसमेत हुने छ । ५ करोड रुपैयाँभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलामा आत्मनिर्भर जिल्ला बनाउनका लागि परियोजनाले महत्वपूर्ण सहयोग पु¥याउने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । जिल्लामा रोजगारीका अवसर सिर्जना गर्न र सुन्तला उत्पादन र व्यापारबाट जाजरकोटलाई आत्मनिर्भर बनाउन परियोजना सहयोगी हुने मन्त्री बस्नेतले बताउनुभयो । कुशे गाउँपालिका–५ पाँचकटियामा कार्यालय स्थापना गरेर सुन्तला जोनको काम सुरु गरिएको छ । क्षेत्र विस्तारले किसानहरु खुसी भएका छन् ।










