उत्तरगंगा ८२८ मेगावाट क्षमतामा बनाइने

काठमाडौँ , उक्तरगंगा जलाशययुत्त आयोजना ८ सय २८ मेगावाट क्षमतामा बनाइने भएको छ । विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा पावरले आयोजना ८ सय २८ मेगावाट क्षमतामा बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने निर्णय गरेको छ ।
बागलुङको ढोरपाटनमा प्रस्तावित उत्तरगंगा जलविद्युत् निर्माण गरिने भनिएको स्थानमा खोला तर्दै स्थानीय बालक । तस्बिर स् प्रकाश
उत्तरगंगा पावर कम्पनी स्रोतले आयोजना निर्माण गर्न करिब पौने २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी दिएको छ। डीपीआर तयार भएपछि यसको वास्तविक लागत अनुमान आउनेछ।
पूर्वसम्भाव्यता अध्ययनका क्रममा उत्तरगंगा ३ सय मेगावाट क्षमतामा बनाउन प्रस्ताव गरिएको थियो। स्रोतका अनुसार सम्भाव्यता अध्ययनले ८ सय २८ मेगावाट क्षमतामा बनाउँदा आयोजना आकर्षक हुने प्रस्ताव गरेपछि कम्पनी त्यही निर्णयमा पुगेको हो।
जलाशययुक्त आयोजना हिउँद र सुक्खायाममा ५ देखि १२ घण्टा विद्युत् उत्पादन गर्ने गरी बनाइनेछ। यो आयोजनाबाट वर्षमा १ अर्ब २९ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ।
जलाशययुक्त आयोजनामध्ये थोरै बस्तीमात्र प्रभावित हुने र खेतीयोग्य जमिनसमेत कम पर्ने भएकाले यसलाई आकर्षक मानिएको छ। कम्पनी स्रोतका अनुसार आयोजनाका कारण २५० हेक्टर मात्रै खेतीयोग्य जमिन डुबानमा पर्नेछ भने ६ सय २५ घरपरिवारमात्रै विस्थापित हुनेछन्।
पानी कालीगण्डकीमा खसालिने
उत्तरगंगा आयोजनाबाट विद्युत् उत्पादन भएपछि पानी कर्णालीतिर छाड्ने कि कालीगण्डकीतर्फ भन्ने विवादसमेत समाधान भएको छ। सत्तारूढ नेकपाका नेताहरूबीच उत्तरगंगाको पानी कर्णाली र कालीगण्डकी कता छाड्ने भन्ने विवाद थियो।
पूर्वऊर्जामन्त्री जनार्दन शर्मासहितका नेकपाका कर्णाली प्रदेशका नेताहरू विद्युत् उत्पादनपछि निक्लिएको पानी कर्णालीतर्फ नै फर्काउनुपर्ने अडानमा थिए भने नेकपाका महासचिव विष्णु पौडेलललगायतका नेता उत्तरगंगाको पानी कालीगण्डकीतर्फ नै छाड्नुपर्ने अडानमा थिए।
ऊर्जामन्त्री वर्षमान पुनको पहलमा नेकपाका नेताहरूबीच उत्तरगंगाबाट विद्युत् निकालेपछि पानी कालीगण्डकीको सहायक नदी निसी खोलामा खसाल्ने सहमति बनेको छ। सहमतिसँगै कम्पनीले कालीगण्डकीतर्फ पानी खसाल्ने गरी उत्तरगंगा आयोजना अघि बढाउने बाटो खुलेको छ।
उत्तरगंगा पावर कम्पनीले परामर्शदाता छनोटका लागि आह्वान गरेको आशयपत्रमा कालीगण्डकीतर्फको निसी खोलामा पानी खसाल्ने गरी आयोजनाको डीपीआर तयार गर्ने उल्लेख छ। उत्तरगंगा भेरी कर्णालीको सहायक नदी हो।
ऊर्जा मन्त्रालयले भेरी कर्णालीमा १२८ मेगावाटको डाँडागाउँ–खलंगा, ४४० मेगावाटको भेरी–१ चिनियाँ कम्पनी गेजुवालाई र ३०० मेगावाटको भेरी–४ आयोजनाको भेरी इनर्जीलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ। कालीगण्डकीमा पानी खसाल्ने गरी उत्तरगंगा आयोजना बनेपछि भेरी कर्णालीको पानीमा परिमाण र त्यहाँ बन्ने आयोजनाको विद्युत् उत्पादन क्षमतासमेत घट्नेछ। कति घट्छ भन्ने यकिन थप अध्ययनपछि मात्र हुने कम्पनी स्रोतले दिएको छ।
उत्तरगंगाको पानी कालीगण्डकीमा थपिएपछि निर्माण भइसकेका र हुने क्रममा रहेका कालीगण्डकीतर्फका आयोजनाको विद्युत् उत्पादन क्षमता भने बढ्ने भएको छ।
उत्तरगंगा आयोजना मुलुकको सबभन्दा बढी विद्युत् खपत हुने राजधानीबाट ३ सय ९८ किमि दूरीमा पर्छ। सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार उत्तरगंगा आयोजनाको बाँध बाग्लुङको गावागाउँमा बनाइनेछ। पावरहाउस–१ हिलेचौर र पावरहाउस–२ सम्जाखर्कमा बनाउने प्रस्ताव गरिएको छ। आयोजना बनाउन मध्य पहाडी लोकमार्गबाट ४८ किलोमिटर नयाँ सडक बनाउनुपर्ने र २७ किलोमिटर खण्ड स्तरोन्नति गर्नुपर्नेसमेत अध्ययन प्रतिवेदनमा छ। कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० प्रतिवेदन तयार गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिसकेको छ।










