घुस लिने अधिकृतको नाम विभूषण सूचीबाट हटाइयो

घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री विभूषण दिने निर्णय भएको थियो ।
करिब दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनको नाम विभूषण पाउनेबाट हटाइएको गृह मन्त्रालयका सहसचिव महादेव पन्थले बताए । श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । लेनेदेनको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । हजारौँ अधिकृतमध्ये उत्कृष्ट रहेको भन्दै गृह मन्त्रालयले उनलाई विभूषणका लागि छनोट गरेको थियो ।
यो वर्ष राष्ट्रपतिबाट १ बैशाखमा विभूषण सुशोभन गर्ने कार्यक्रम छ । विभिन्न क्षेत्रका तीन सय ४३ जनालाई राष्ट्रपतिबाट विभूषण शुभोभन हुने कार्यक्रम रहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
विभूषण वितरण्मा निष्पक्ष मूल्याङकन नहुँदा हरेक वर्ष विवादास्पद व्यक्तिहरु पर्ने गरेका छन् । गत भदौमा विभूषण प्रदान गर्दा बलात्कार मुद्दा मिलापत्र गराउँदा निलम्बनमा परेका एसपी विद्यानन्द माझीलाई दिँदा सरकार नै विवादमा परेको थियो ।
राष्ट्रलाई योगदान दिइएका कर्मचारीलाई राज्यले सम्मान स्वरुप विभूषण, पदक र अलंकार दिँदै आएको छ । तर, छनोट गर्दा सत्ता निकट कर्मचारी पर्ने भएकाले यस्तो सम्मानको ओझ घट्दै गएको छ ।







