समयमै योजना निर्माण गर्नेलाइ नगरपालिकाको सम्मान

कविता शाही 
जाजरकोट ः स्थानीय उपभोक्ताले निर्धारित समयमा पुरा गर्ने काम र जागर , गुणस्तर कायम गर्नेलाई पुरुष्कारको व्यवस्था गरिएको छ । स्थानीय तह गठन भएदेखि कामका आधारमा पुरुष्कार दिदै आएको नगरपालिकाले यो वर्ष पनि छिटो र गुणस्तर काम गर्नेलाई सम्मान गरेको छ । गत बर्षका आयोजनाहरुमा नलगाड नगरपालिका–६ गर्छिना स्थित पुर्सेली खोला पुल प्रथम भएर पुरस्कार जित्न सफल भएको थियो भने, प्रथम हुने वडामा १० नम्बर वडाले पुरस्कार जित्न सफल भएको थियो ।
प्राविधिक मुल्याङ्कणका आधारमा पुर्सेली खोला पुल निर्माण उपभोक्ता समितिलाई नलगाड नगरपालिकाले प्रमाण पत्र र ५ हजार नगद पुरस्कार प्रदान गरेर सम्मान गरेको थियो । त्यसैगरि गत आर्थिक बर्षमा प्रथम हुने १० नम्बर वडालाई नलगाड नलरपालिकाले ५ लाख बराबरको थप आयोजना दिनुको साथै सम्मान पत्र दिएर सम्मान गरिको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले जानकारी दिए ।
भौगलिक रुपमा विकट भएतापनि पुर्सेली खोला पुल निर्माण उपभोक्ता समितिले प्राविधिक डिजाईन ईष्टामेट अनुसार काम गर्नुको साथै निर्धारित समयमै काम सम्पन्न गरेको हुदा उक्त आयोजना प्रथम भएको प्रमुख प्रशासकीय अधिकृत सिंहको भनाई रहेको छ । त्यसैगरि गत आर्थिक बर्षमा वडा नम्बर १० ले नगरपालिकाको गति पकड्नुको साथै अनुशासित तरिकाले काम गरेको हुदा १० नम्बर वडा प्रथम भएको हो प्रमुख प्रशासकीय अधिकृत सिंहले भने–‘यस बर्षपनि १० नम्बर वडाले वडा कार्यालयको भवन बाहेकका अन्य सबै आयोजनाका कामहरु सम्पन्न गरि भुक्तानी लिई सकेको छ ।’
सम्मान र पुरस्कारको व्यवस्थाले नगरपालिकाको विकासको गतिलाई अगाडी बढाउने धारणा राख्दै नगर प्रमुख टेकबहादुर रावलले भने–‘यस बर्ष आ–आफ्ना वडा र वडाका आयोजनालाई मुल्याङ्कणको सिमाभित्र प्रथम गराई पुरस्कार जित्न, जिताउन १३ वटै वडाका वडा अध्यक्षहरुले स्वस्थ प्रतिष्पर्दा गरिरहेका छन् ।’
नलगाड नगरपालिका–६ गर्छिना स्थित पुर्सेली खोला पुल १९ लाख ६८ हजार २ सय ५० को लागत स्टामेटमा उपभोक्ता समितिले निर्माण गरेको थियो । उक्त पुल निर्माणमा १६ लाख ४१ हजार ६ सय नगरपालिकाको अनुदान रहेको थियो भने, ३ लाख ३६ हजार ८ सय ५० उपभोक्ता समितिले जनश्रमदान गराएको थियो । उक्त पुलको उपभोक्ता समितिका अध्यक्ष खीमबहादुर विक हुन भने, सचिव छबिलाल घर्ती हुन् । त्यसैगरि कोषाध्यक्ष नरी सार्की हुन् ।
नगरपालिकाका १३ वटै वडामा प्रथम भएर ५ लाख बराबरको एक आयोजना थप पुरस्कार प्राप्त गर्ने १० नम्बर वडाका अध्यक्ष भद्रबहादुर ध्यार हुन् भने, अन्य सदस्यहरुमा रुपा ध्यार, टकबहादुर ध्यार, लक्ष्मी विक र ईश्वरी पुन हुन् ।










