‘वनको संरक्षणसँगै उपयोग आवश्यक छ’ मन्त्री बस्नेत

काठमाडौँ, वन तथा वातावरणन्त्री शक्तिबहादुर बस्नेतले वन स्रोतको दिगो संरक्षणसँगै उपयोग पनि आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय वन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वनलाई समृद्धिसँग जोड्न वनको संरक्षण र उपयोगबीच सन्तुलन कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सरकारले सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गर्न सरकारले कठोर नीति लिएको छ, सुशासका लागि सरकारका तर्फबाट कुनै पनि नकारात्मक खालका सम्झौता हुँदैन ।”

मुलुकको झण्डै ४५ प्रतशित भू–भाग वन क्षेत्रले ओगटेको चर्चा गर्दै उहाँले मन्त्रालयले संरक्षण, उपयोग र लाभको सन्तुलित प्याकेज अघि सारेर वन व्यवस्थापन गर्ने योजना बनाएको जानकारी दिनुभयो । वन सचिव डा विश्वनाथ ओलीले वन क्षेत्रलाई समृद्धिमा उपयोग गर्न मन्त्रालयका नीति र कार्यक्रम केन्द्रित रहेको उल्लेख गर्दै आगामी दिनमा वन क्षेत्रको संरक्षणसँगै वनमा आधारित उद्यमशीलतालाई पनि प्रोत्साहन गरिने बताउनुभयो ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्सालले वन क्षेत्रमा उपलब्धिसँगै चुनौती पनि रहेको बताउँदै दिगो वन व्यवस्थापन नगरी वनको गुणस्तरमा सुधार ल्याउन नसकिने धारणा व्यक्त गर्नुभयो । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ नेपालका देशीय प्रतिनिधि डा प्रल्हाद थापाले जैविक विविधता संरक्षणमा सङ्घले सहयोग गर्दै आएको बताउनुभयो भने वन अनुसन्धान तथा तालीम केन्द्रका महानिर्देशक डा दीपककुमार खरालले दिवसका अवसरमा गरिएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मन्त्री बस्नेतले आगामी वर्षलाई वृक्षरोपण वर्षका रुपमा घोषणा गर्नुभएको थियो । यस कार्यक्रमअन्तर्गत आगामी वर्षभरि मुलुकभर विभिन्न प्रजातिका करीब पाँच करोड बिरुवा रोपिने मन्त्रालयले जनाएको छ । साथै निजी, सामुदायिक र सरकारी क्षेत्रमा वृक्षरोपणका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।




सम्बन्धित समाचार


error: Content is protected !!