नगरका कर्मचारी र चालक बीच झडप,एक घाइते


डोल्पा ,नगरपालिकाका कर्मचारी र गाडी चालकबीच झडप, एक घाइतडोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारी र गाडी चालकबीच झडप हुँदा एक जना घाइते भएका छन् । झडपमा परेर नगरपालिकाका नायब सुब्बा हिराचन्द्र धरला घाइते भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।
घाइते धरलाको टाउकोमा गम्भीर चोट लागेकाले प्राथमिक उपचार स्थानीय मेडिकलमा गराएर थप उपचारको लागि जुफाल बिमानस्थलबाट जहाजमा नेपालगञ्ज लगिएको छ ।
धरला र नगरकै अर्का कर्मचारी खड्कसिंह कठायत बुधबार साँझ खदाङ्बाट त्रिपुराकोट आउने क्रममा सिउरेनी बजार पुगेपछि गाडीको भाडा घटाउने बिषयमा चालकसँग कुरागर्दा बिवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।
धरलाले खदाङ् त्रिपुराकोट खण्डमा पाँचसय भाडा महंगो भएकाले चारसय भाडा मात्रै लिन पाउने बताएपछि ‘भाडा घटाउने तँ को भन्दै जीप र ट्रयाक्टर चालकहरुले सामुहिक रुपमा आक्रमण गरेको बताइएको छ ।
घटनामा संलग्न रुकुम जिल्ला आठबिसकोट नगरपालिका वडा नं ९ बस्ने जीवन सिंह रावत, वडा नं ११ बस्ने नबिन नेपाली, वडा नं ६ बस्ने गोपाल बोहोरा, जाजरकोट नलगाड नगरपालिका ७ बस्ने प्रदिप बुढाथोकी, वडा नं १२ बस्ने महेन्द्र बिकलाई बुधबार रातिनै प्रहरीले पक्राउ गरिसकेको प्रहरी चौकी त्रिपुराकोट प्रहरी नायब निरीक्षक टेकबहादुर देउबाले जानकारी दिए ।
घटनामा संलग्न प्रेम बिकसहित दईजना फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । बिहीबार खदाङ–त्रिपुराकोट खण्डमा गाडी चलाउने आधादर्जन चालकहरु नियन्त्रणमा राखेर हिरासतमा राखेपछि सो खण्डमा यातायातसेवा बन्द भएको छ ।










