जाजरकोट – डोल्पा सडकमा तेह्र पुल बन्न बाँकी

सुकमाया थापा
दुनै डोल्पा , २६ फागुन ः डोल्पा दुनैबाट गाडी चढेर नेपालगन्ज पुगिन्छ भन्ने सुन्दा ठुलिभेरी नगरपालिका – ७ की रामबहादुर थापा कम्ती खुसी भएका थिइनन्। किनकि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै उनको वर्षौंदेखिको सडक यात्राको सपना पूरा हुँदै थियो। उनले हवाई टिकट रद्द गरेरै पहिलोपटक गाडीबाट नेपालगन्ज जाने निधो गरे । जिपमा भएभरका सामान राखेर ठुलिभेरी नगरपालिकाको दुनै यात्रामा पुगे ।
जिप गुडेको दुई घन्टापछि त्रिपुराकोट पुग्दा सहचालकले भने, ‘तपाईंको यात्रा सकियो झर्नुहोस्। पल्लोपट्टि अर्को जिप लागेको छ, त्यसैमा जानुहोस्।’ उनलाई भएभरको सामान बोकेर पल्लोपट्टि पु¥याउन हम्मेहम्मे प¥यो। जिप चढ्नुअघिको सबै उमंग सेलायो। त्यो यात्रा उनका लागि अत्यन्त कष्टकर बन्न पुग्यो। ‘दुई दिनमै नेपालगन्ज पुगिन्छ भन्ने सुनेकी थिएँ। जाजरकोट–नेपालगन्जमा सञ्चालन हुने ठूला बसहरूले मनपरी गर्दा तीन दिनको कठिन यात्रापछि मात्र गन्तव्यमा पुग्नुपर्ने अवस्था रहेको भन्दै थापाले गुनासो गरिन्। नेपालगन्जसम्म पुग्दा ६ ठाउँमा जिप फेर्नुपर्ने र सामान बोक्नुपर्ने झमेलाले उनलाई हवाई टिकट रद्द गरेकोमा ठूलो पश्चात्ताप भयो।
वुद्धडोल्पो गाउँपालिका – १ का काम्रो गुरुङ पनि बीच बाटोमा जिप फेर्नुपर्ने झमेलाले आफूले जस्तै धेरै यात्रुले सास्ती बेहोर्नुपरेको बताउँछन्। डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएकोे औपचारिक उद्घाटन मंसिर ४ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेको भए पनि अहिलेसम्म सीधा यातायातको व्यवस्था नहुँदा डोल्पालीले अनेकन् सास्ती र चुनौती भोग्दै कष्टकर ढंगले यात्रा गर्दै आएका छन्।
डोल्पा–जाजरकोट सडकखण्डका विभिन्न स्थानमा १३ वटा पुल बन्न बाँकी छ। भेरी नदीलगायत अन्य खोलानालामा साना–ठूला गरी १३ वटा मोटरेबल पुल बन्न बाँकी छ। नेपालगन्ज–डोल्पाको सीधा यातायात सञ्चालन गर्न रुकुमको राडी ज्युलामा पर्ने भेरी नदी, जाजरकोटको दल्लीस्थित नलगाड खोला, जाजरकोटकै तल्लुबगरस्थित भेरी नदीमाथि पुल निर्माण गर्न बाँकी छ। यसैगरी डोल्पामा पर्ने करवगाड खोला, खदाङस्थित हरियापानी, चुँगाड खोला र छलगाड खोलामा पनि पुल बन्न थालेको छैन। त्रिपुरासुन्दरी–१ अन्तर्गत पर्ने गल्लीगाड र भेरी नदी तथा ठूलीभेरी नगरपालिका–८ मा पर्ने रूपगाड खोलामाथिको पुल गरेर पाँच ठूला र आठ स–साना गरी १३ वटा पुल निर्माण हुन बाँकी छ। जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने रिम्ना र चिसापानीमा भने पुल निर्माण कार्य सम्पन्न भइसकेको छ।
भेरी करिडोर नाम दिइएको जाजरकोट–डोल्पा सडक उत्तरी सीमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणी नाका बाँकेको जमुनाहा जोड्ने त्रिदेशीय रणनीतिक महत्वको सडक मानिन्छ। छिटोभन्दा छिटो सीधा यातायात सञ्चालन गर्न भेरी नदीमाथि र अन्य ठाउँमा निर्माण गर्नुपर्ने ठूला र ससाना मोटरेबल पुल निर्माण गर्न डोल्पालीले माग गरेका छन्। जाजरकोट–डोल्पा सडकखण्डमा सञ्चालित जिपहरूले यात्रुहरूबाट मनपरी भाडा असुल्दै आएका छन्। रुकुमको छरेबगरदेखि डोल्पाको खदाङसम्म सञ्चालित जिपहरूले यात्रुहरूबाट प्रतियात्रु सात सयका दरले भाडा असुल्दै आएका छन्। त्यसैगरी त्रिपुरासुन्दरी–५ र ६ मा पर्ने खदाङदेखि छलगाडसम्मको १६ किलोमिटरको दूरीमा प्रतियात्रु तीन सय ७५ भाडा तोकिए पनि पनि जिप सञ्चालकहरूले आफूखुसी गरेर पाँच सय रुपैयाँ असुली गर्दै आएको गुनासो जाजरकोटका बद्री पन्तले गरे । छलगाडदेखि खदाङसम्म नगरपालिकाले तोकेको तीन सय ७५ भाडादरमा आफूहरूले प्रतियात्रु प्रतियात्रु पाँच सयसम्म असुल्ने गरेको यात्रुहरु बताउँछन् । भाडा जती चर्को लिएपनि स्थानीय प्रशासन भने मुर्खर्दशक भएको स्थानीयको आरोप छ ।




सम्बन्धित समाचार


error: Content is protected !!