सञ्चयकर्तालाई उपचार सुविधा

जाजरकोट — कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई औषधि उपचार योजना अघि सारेको छ । कोषले सञ्चयकर्तालाई औषधि उपचार, घातक रोग बिमा, सामाजिक सुरक्षा सुविधाअन्तर्गत काजकिरिया अनुदान, दुर्घटना क्षतिपूर्ति, स्वास्थ्य बिमा, सुत्केरी स्याहार खर्चलगायत सुविधा उपलब्ध गराउने भएको हो ।
कोषले औषधि उपचार खर्चबापत एक लाख, घातक रोग बिमाबापत १० लाख, काजकिरिया अनुदान ४० हजार, दुर्घटना बिमा दुई लाख र सुत्केरी तथा शिशु स्याहारबापत सात हजार पाँच सय रुपैयाँ उपलब्ध गराउन थालेको छ । सञ्चय कोष, कोहलपुर शाखा प्रमुख महेन्द्रराज शाक्यले नियमित रूपमा सञ्चय कोष जम्मा गर्ने सञ्चयकर्तालाई उक्त सुविधा उपलब्ध गराउने जनाए ।
कोषले सामाजिक सुरक्षा र सुविधा प्रदान गर्ने अवधारणाअन्तर्गत सञ्चयकर्ता अधिकतम हित र थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले यो योजना अगाडि बढाएको उनको झनाइ छ । शनिबार खलंगामा सरोकारवालासँग एक अन्तरक्रियाकार्यक्रमको आयोजना गरेर कोषले उक्त जानकारी दिएको हो ।
कोषका अनुसार माघदेखि उक्त योजना लागू गरिएको छ । शाक्यले सञ्चयकोषले विभिन्न बैंक, जलविद्युत् आयोजनालगायत क्षेत्रमा समेत लगानी गरेको जनाए । ‘सञ्चयकर्ताले कोषमा नियमित जम्मा हुने रकम र कोषबाट पाउने सुविधाका सम्बन्धमा जानकारी लिन जरुरी छ,’ उनले भने, ‘सञ्चयकर्ता तथा सरोकारवालालाई कोषको गतिविधि तथा योजनाबारे नियमित जानकारी गराउन जिल्लाजिल्लामा विभिन्न अन्तर्क्रियामूलक कार्यत्रम सञ्चालनगरिरहेका छौं ।’
सञ्चयकोषले घर सापटी, विशेष सापटी, शैक्षिक सापटी, सरल कर्जालगायत सापटीका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सहभागीले सञ्चयकोषबाट पाउने सेवा सुविधा तथा गतिविधिबारे आफूहरू अनविज्ञ रहेको गुनासो गरेका थिए । प्रत्येक सञ्चयकर्तालाई केवाईसी अपडेट गरेर कोषबाट प्रवाह हुने सेवा सुविधाबारे जानकारी लिन कार्यालयले आग्रह गरेको छ कान्तिपुरमा खवर छ ।










