विषयगत कार्यालय एकातिर गाउँपालिका अर्कैतिर

रुकुम पश्चिम,गाउँपालिका एकातिर र विषयगत कार्यालय अर्कैतिर हुँदा पश्चिम रुकुमको बाँफिकोटका बासिन्दालाई समस्या भएको छ । जसले गर्दा केहीबेरमै पूरा हुने काम घण्टौँ लाग्ने गरेको छ ।

गाउँपालिका कार्यालय र सम्बन्धित मातहतका विषयगत कार्यालयहरू फरक–फरक ठाउँमा हुँदा समस्या भएको स्थानीय बासिन्दाले बताए । कोटमा गाउँपालिकासहित न्यायिक समिति, पशु सेवा र हुलाक कार्यालय छन् । त्यस्तै, छिन्खेतमा कृषि, शिक्षा, वन, महिला तथा बालबालिका, स्वास्थ्य तथा सरसफाई इकाईको कार्यालय छन् ।

कोट र छिन्खेत आठ किलोमिटरको दूरीमा छन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्न एकदेखि डेढ घण्टासम्म हिँड्नुपर्ने गरेको स्थानीय बासिन्दाले बताए । सानो काम पनि एउटा कार्यालयबाट सिफारिस लिएर अर्को कार्यालय पुग्दा घण्टौँ लाग्ने गरेको उनीहरूको भनाइ छ । ‘एकै दिनमा बन्ने कामका लागि अर्को दिन पनि बस्नुपर्ने बाध्यता छ,’ स्थानीय सदु विकले भने ।

गाउँ कार्यपालिकाको निर्णयअनुसार नै कोट र छिन्खेतमा कार्यालय राख्नुपरेको अध्यक्ष धर्मबहादुर केसीले बताए । कोट र छिन्खेतका बासिन्दाले आ–आफ्नो ठाउँमा गाउँपालिका केन्द्र राख्न माग गर्दै आएका थिए ।





error: Content is protected !!