शल्यक्रिया गर्नुअघि रक्तदातालाई फोन

दैलेख,प्रसव व्यथा लागेपछि दैलेखको डुंगेश्वरकी मनीषा भण्डारीलाई जिल्ला अस्पताल ल्याइयो । शल्यक्रिया गर्नुपर्ने भए पनि स्वास्थ्यकर्मीले भने रक्तदातालाई फोन गर्न थाले । जब रक्तदाता अस्पताल पुगे, त्यसपछि मात्रै उनको शल्यक्रिया गरियो ।
कलेजोमा खराबी आएपछि ७४ वर्षे बलबहादुर रावत अस्पताल पुगे । चिकित्सकले भने शल्यक्रिया गर्नुअघि नारायण नगरपलिका–१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठलाई फोन गरे । बलबहादुरसँग रक्तसमूह मिलेका वडाध्यक्ष तीर्थ जब अस्पताल पुगे, त्यसपछि मात्रै शल्यक्रिया गरियो ।
जहिल्यै शल्यक्रिया गर्नुअघि रक्तदातालाई बोलाउने गरिएको छ । ब्लड बैंक नभएकाले बिरामीसँग रक्तसमूह मिल्ने व्यक्ति आएपछि मात्रै शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको अस्पतालका डा।निराजन पन्तले बताए ।
सधैँ दाताकै भर
समाजसेवी तीर्थनारायण श्रेष्ठले नौपटक रक्तदान गरिसकेका छन् । उनी अस्पतालबाट फोन आयो कि दगुरिहाल्छन् । ‘मैले दिएको रगतले कसैको ज्यान जोगिन्छ भने मेरो लागि योभन्दा अरू खुसी केही छैन,’ उनले भने ।
तीर्थ मात्रै होइन, यहाँ कैयौँले रगत दिने गरेका छन् । आर्थिक रूपले कमजोर हुँदा जिल्लाबाहिर जान नसक्ने यहाँका बासिन्दालाई रक्तदाताले नै ज्यान जोगाएका छन् । यसरी रगत दिनेमा सैनिक, प्रहरी, कर्मचारी तथा सर्वसाधारण पनि रहेका छन् ।








