करोडौंको बिद्युत पोल जथाभावी गाडियो डोल्पामा

डोल्पा,जिल्लाका बिभिन्न ठाउँमा करोडौं मूल्य बराबरका विद्युतका पोलहरू जथाभावी गाडेपछि अलपत्र परेकाछन्। जिल्लाका बिभिन्न स्थानीय तहमा सञ्चालित लघु जलबिद्युत विस्तारकालागि माग गरिएको बिद्युतका पोलहरू बाटाघाटामा जथाभावी गाडेपछि अलपत्र परेका हुन्। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने लिकु, पहाडा, रसी, काइके गाउँपालिकामा पर्ने सहरतारा, लावन लगायतका वस्तीहरूमा बिद्युत सेवा बिस्तारका लागि ६५० थान पोल माग गरिएको थियो।

कर्णाली प्रदेश सभा सांसद बीरबहादुर शाहीको पहलमा माग गरिएको बिद्युत पोलहरू मुड्केचुला गाउँपालिकाको कालिका, त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट,चुँगाड, अर्निचौर लगायतका ठाउँमा जथाभावी गाडिएको छ। लक्षित ठाउँकोलागि माग गरिएको पोल बिद्युतका कर्मचारी र ठेकेदारको मनपरिका कारण अनावाश्यक बाटोबाटोमा गाडिएपछि सांसद शाहीले आपत्ति जनाए। ुदुर्गम भेगमा बस्ने स्थानीयलाई बत्तीको उज्यालो दिन बिद्युत प्राधिकरणमा पोल माग गरेको हुँ। वर्षौपछि आउने केन्द्रीय प्रशारण विस्तार गर्ने नाममा सम्बन्धित जनता लाभान्वित हुन नपाउँदै जथाभावी पोल गाड्नु दुखदायी कुरा होु सांसद शाहीले भने।

गाडेका पोल निकालेर भए पनि सम्बन्धित ठाउँमा पोल पुर्‍याउन सांसद शाहीले ठेकेदार र बिद्युतका कर्मचारीलाई निर्देशन दिएका छन्। यता बिद्युत प्राधिकरण डोल्पा वितरण शाखाका इन्जिनियर शंकरसिंह ठकुरीका अनुसार सांसद शाही र हामि बिचको समन्वयका अभावका कारण बिद्युत पोलहरु अन्यत्र ठाउँमा रोपिएको बताए। अझै पनि पोलहरू गाड्न बाँकी रहेकाले सांसद शाहीले माग गरेको ठाउँकालागि पोल पुर्‍याउने इन्जिनियर ठकुरीले बताए। पोल खरिदको लागि दुइवटा टेन्डर गरिएकोमा एउटाको एक करोड ७९ लाख कुल लागत अनुमानमा ९८ लाख र अर्को एक करोड पाँच लाखको अनुमानमा ४९ लाखमा खैरावाङ निर्माण सेवा र सिद्धिविनायक निर्माण सेवाले जिम्मा पाएका थिए। बिभिन्न बिकट गाउँकालागि माग गरिएको पोल सम्बन्धित ठाउँमा पुर्‍यायर गाड्नुपर्ने डोल्पाली जनताले माग गरेकाछन्।थाहा साभार





error: Content is protected !!