बुहारीलाई घरबाट निकाल्ने सासूससुरा पक्राउ

सल्यान,बुहारीलाई घरनिकाला गरेको आरोपमा सल्यान प्रहरीले सासूससुरालाई पक्राउ गरिएको छ । कुमाख गाउँपालिका–६ च्याउखोलाकी २० वर्षीया एलिसा विकलाई घरनिकाला गरेपछि उनका ससुरा ४५ वर्षीय युद्धवीर रावत र सासु ४२ वर्षीया पिमकली रावतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई शनिबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एसिला र २२ वर्षीय टीकाराम रावतको दुई वर्षअघि प्रेमविवाह भएको थियो । तर, घरपरिवारले दलित भएको थाहा पाएपछि पीडा दिन थालेका थिए । २९ माघमा भने टीकारामसहित परिवारजनले कुटपिट गरेर घरबाट निकालेको उनले बताइन् । उनले २ फागुनमा जिल्ला प्रहरी कार्यालयका श्रीमानसहित सासुससुराविरुद्ध उजुरी दिएकी थिइन् ।
उनको निवेदनको आधारमा अनुसन्धानका लागि सासुसुरालाई पक्राउ गरिएको डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए । उनका श्रीमान् टीकाराम भने भागेको प्रहरीले जनाएको छ । जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरनिकाला गरिएकी एलिसाको इन्सेकको पहलमा खलंगामै बसोवासको व्यवस्था गरिएको छ ।








