नयाँ प्रविधिमा यसरी हुँदै छ चीनको उदय

चीन पछिल्लो समय प्रविधिमा विश्वको फ्याक्ट्रीको रूपमा उदाउने प्रयासमा छ । आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल समाचार वाचकदेखि मोबाइल भुक्तानीको प्रयोगसम्ममा चीन अगाडि छ । चीनका ७३ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता चीनको प्राविधिक विकासको योजनामा साथ दिइरहेका छन् । यसैबीच त्यहाँको सरकारले ल्याएको ‘मेड इन चाइना २०२५’ जस्ता योजनाले चीनलाई प्रविधिमा महङ्खवपूर्ण फाइदा पुग्ने देखिएको छ । चिनियाँ कम्पनी ग्लोबल ग्रूपका अध्यक्ष जोनी होन चीन अहिले प्रविधिमा सबैभन्दा अगाडि आउने दाउमा रहेको बताउँछन् । पश्चिममा चिनियाँ सामग्रीहरू सस्तो, कम गुणस्तरको र नक्कली हुन्छ भन्ने सोचाइ पछिल्लो समय गलत सावित हुँदै गएको छ । पछिल्लो दशकयता चीनमा विश्वकै महत्त्वपूर्ण प्रविधिको आविष्कार हुन थालेका छन् ।

मोबाइल भुक्तानीमा सबैभन्दा अगाडि
चिनियाँ उपभोक्ता नगदविनाको कारोबारमा अग्रसर देखिन्छन् । उनीहरू क्युआर कोड र फोनको माध्यमबाट भुक्तानी गर्ने गर्छन् । सन् २०१२ मा मोबाइल भुक्तानीबाट २ करोड ४० लाख पाउन्ड करोबार भएकोमा यो नतीजा २०१६ मा बढेर ९८ खर्ब पाउन्ड पुगेको थियो । पछिल्लो समय पनि सोही मात्रामा मोबाइल भुक्तानी बढ्दो क्रममा छ । चीनमा करीब ४० प्रतिशत उपभोक्ताले अनलाइनमा उत्पादन विक्री गरी थप कमाइ पनि गर्ने गरेका छन् । मोबाइल भुक्तानीको प्रयोग तथा विकासको श्रेय चीनलाई जान्छ ।

वित्तीय सुधार
चीनको प्रविधिमा अर्को महत्त्वपूर्ण सफलता वित्तीय प्रविधि कम्पनीको विकास हो । यस किसिमका कम्पनीले आफ्नो सेवामा उल्लेख्य मात्रामा प्रविधिको प्रयोग गर्दै आएका छन् । अहिलेसम्म पश्चिमा मुलुकले यस किसिमको सेवा प्रविधिबाट दिन शुरू गरेका छैनन् ।

चिनियाँ वित्तीय संस्थाहरू अहिले प्रतिस्पर्धा गर्न नसकिने अवस्थामा रहेको चिनियाँ अधिकारीहरू बताउँछन् । त्यसको एक उदाहरण वीक्यास प्रविधि हो । यसले आफ्नै सामाजिक सञ्जाल विस्तार गरी बेवास्तामा परेका मानिसलाई सेवा प्रदान शुरू गरेको थियो । पछिल्लो समय भने पश्चिमा मुलुकले चीनबाट सिकेर केही हदसम्म यस किसिमको प्रविधिको प्रयोग बढाइरहेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्समा अग्रणी
चिनियाँ कम्पनीले निकै प्रभावकारी रूपमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिरहेका छन् । चिनियाँ खोजी जायन्ट पाइतुले केही समयअघि मात्र पेचिङमा विश्वको पहिलो एआई पार्क स्थापना गरेको थियो । गतवर्ष चीनले एआईमा सबै मुलुकलाई पछि पार्ने आफ्नो उद्देश्य रहेको बताएको थियो ।

चीन एआई कम्पनीमा लगानी गर्ने अमेरिकापछि दोस्रो मुलुक हो । सन् २०३० सम्ममा एआईमा सबैभन्दा अगाडि आउने चीनको दाउ छ । चिनियाँ कम्पनी अलिबाबाले पनि एआईबाट चल्ने केही उत्पादन ल्याइसकेको छ । साथै चीनले यो प्रविधिको प्रयोग गरी आफ्नो व्यापार विस्तार, उपभोक्ता सेवा, ठगी पहिचान र मुद्दा पहिचान गर्नेजस्ता काम गरिरहेको छ ।

सामाजिक सञ्जालको ‘पावरहाउस’
सामाजिक सञ्जालमा पनि चीन अगाडि छ । चिनियाँ सामाजिक सञ्जाल वीच्याटले धेरै फङ्क्शनको विकास गरेको छ । उसले आफूलाई सबै सामग्रीको एपको रूपमा विकास गरेको छ । यसबाट डाक्टरसँग अप्वाइन्टमेन्ट लिनदेखि ट्राफिक जरीवाना तथा अन्य बिल पनि तिर्न पनि सकिन्छ ।

वीच्याट बनाउने टेनसेन्ट कम्पनी बजार पूँजीकरणमा फेसबुकभन्दा महँगो कम्पनी बनिसकेकोे छ । यसले प्रविधि क्षेत्रमा चीनले पाइला कसरी चाल्दै छ भन्ने उदाहरण मात्र दिएको अधिकारीहरू बताउँछन् । चीन प्रविधिको विकासका लागि अन्य मुलुकसँग पनि सहकार्य बढाउने सोचमा छ । चीनले प्रविधिमा पछिल्लो समय लगानी समेत बढाएको छ । यस्तोमा पश्चिमा मुलुक चीनसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको योजना सहित अघि बढ्नु जरुरी देखिएको छ ।

एजेन्सी.




सम्बन्धित समाचार


error: Content is protected !!