विमानस्थल खुलाउन हिउँ फाल्दै जनप्रतिनिधी

मेनुका बुढा
डोल्पा ः भारि हिमपातका कारण जुफाल विमानस्थलको धावन मार्गमा बाक्लो हिउं जमे पछि ४ दिनदेखि अवरुद्ध हवाई यातायात संचालनका लागि नगर प्रमुखको नेतृत्वमा धावन मार्गको हिउं पन्छाइएको छ ।
हिमपातले जुफाल विमानस्थलको धावन मार्गमा बाक्लो हिउं जमे पछि ४ दिनदेखि अवरुद्ध हवाई यातायात खुलाउनका लागि ठुलीभेरी नगरपालिका डोल्पाका प्रमुख गणेशबहादुर शाहीको नेतृत्वमा आइतवार धावन मार्गको हिउं फालिएको छ ।
जुफाल विमानस्थलको धावन मार्गमा बाक्लो हिउ जमे पछि आइतवार पनि हवाई यातायात अवरुद्ध भएकाले डोल्पाबाट नेपालगञ्ज, सुर्खेत झर्ने र नेपालगञ्ज सुर्खेतबाट डोल्पा आउने यात्रुहरु विमानस्थलहरुमा ४ दिनदेखि थन्किएर बस्न बाध्य भएका छन् ।
हिमपातले अवरुद्ध हवाई यातायात खुलाउनका लागि ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही, नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, सदस्य, कर्मचारी र सर्वसाधारणहरुको उल्लेख्य सहभागितामा जुफाल विमानस्थलको धावन मार्गमा करिव १ फिट जमेको हिउ आइतवार फालिएको ठुलीभेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार यादवले जानकारी दिनुभयो ।
धावन मार्गमा जमेको हिउंलाई बेल्चा, दाविलो प्रयोग गरेर फालिएको थियो । हिउँलाई फाल्नका लागि धेरै जनाको सहभागिता रहेको थियो । हिउं पन्छाइएकाले ४ दिनदेखि अवरुद्ध हवाई सेवा सोमवारबाट सुचारु हुने आशा राखिएको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउनुभयो ।










