सडक बन्यो, पुल बनेनन्,सडक सञ्चालन भएको ७ वर्ष बिते पनि स्थानीयलाई यात्रा गर्न सास्ती

हेमन्त केसी
जाजरकोट ः जाजरकोट–डोल्पा सडकको ६० किलोमिटर खण्डमा ट्र्याक खुलेको सात वर्ष बित्यो । तर, सडकखण्डमा पर्ने नदीहरूमा पुल नहुँदा स्थानीयले सास्ती व्यर्होनु परेको छ । जाजरकोट सदरमुकामबाट तल्लुसम्म गुड्ने सबै यातायातका साधन नलगाड नदी हुँदै जान्छन् । पानीको बहावले यात्रा प्रभावित हुने गरेको छ । यातायातका साधन नदीमा फस्दा डोजर लगाएर निकाल्नुपर्ने बाध्यता छ ।

यही बाटो हुँदै मन्त्री, सांसद र जनप्रतिनिधि सवार हुन्छन् । तर, समस्या समाधानमा उनीहरूले चासो देखाएका छैनन् । सडकखण्डमा पर्ने झुमरा खोला, नलसिंहगाड, ताँसुगाड, ताँत्र खोला, मालुवा खोला, मैदे खोलामा पनि समस्या उस्तै छ । पुल नबन्दा सीधा यातायात सञ्चालनमा बाधा पुगेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । स्थानीय सरकारले चाहेर मात्रै पुल बनाउन सक्ने अवस्था नरहेको उनले बताए । ‘यी खोलामा पुल बनाउन स्थानीय सरकारको क्षमताले मात्रै सक्दैन । पुल बन्ने कुनै सुरसार पनि देखिएको छैन,’ उनले भने, ‘वर्षात्मा साना खहरे खोला र हिउँदमा ठूला खोलाले यातायात अवरुद्ध गर्ने गरेका छन् ।’

ढुवानी अभावमा मूल्यवृद्धि
यातायातका साधनद्वारा दुर्गम गाउँमा दैनिक उपभोग्य वस्तु ढुवानी नहुँदा मूल्य चुलिने गरेको छ । प्रतिकिलो दुई रुपैयाँमा ढुवानी हुने सामान १४÷१५ रुपैयाँमा ढुवानी गर्नुपरेको यातायात व्यवसायीको गुनासो छ । सीधा यातायात सञ्चालनमा आउन नसक्दा डोल्पा, रग्दा, भगवती, रुकुम पश्चिमको गोतामकोटलगायत गाउँका स्थानीयले थाप्लोमा भारी बोक्नुपर्ने बाध्यता रहेको स्थानीय प्रेमबहादुर खत्रीले बताए । डोल्पा सडकको ट्र्याक ओपन भइसकेको हुँदा विभिन्न खोलामा सडक डिभिजनले तत्काल पुल बनाउनुपर्ने प्रजिअ ललितकुमार बस्नेत बताउँछन् ।

यातायात सञ्चालनमा बाधा
नलगाड नगरपालिकाको कालीमाटीदेखि तल्लुबगरसम्मको २७ किलोमिटर खण्डमा नियमित रूपमा यातायात सञ्चालन हुन सकेको छैन । नलगाड खोलामा जोखिम मोलेर यातायातका साधन तार्दा गाडीका इन्जिन नै सिज हुने गरेको यातायात व्यवसायी इन्द्रबहादुर सुनारले बताए ।





error: Content is protected !!