ठुलीभेरी नगरपालिकाको केन्द्र सारेको विरोधमा मंगलवार पनि र्याली

सुकमाया थापा
डोल्पा(दुनै) – ठुलीभेरी नगरपालिकाको केन्द्र साविक दुनै गाविसको दुनैबाट बैठकमा कुनै प्रस्तावै नराखी तथा जानकारी नदिई जुफालमा जालसाजी गरेर केन्द्र सारेको भन्दै दुनै पक्षले मंगलवार दुनै बजारमा विरोध र्याली गरेका छन् ।
जालसाजी मेयर चाइदैन, केन्द्र सार्न पाइदैन, जुफाल केन्द्र खारेज गर, भ्रष्टचारी मेयर राजिनामा दे लगायतका विभिन्न उत्सृङ्खल नाराहरु सहित कालिका मन्दिरबाट सुरु भएको विरोध जुलुस बजार परिक्रमा गरी बीरेन्द्र चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
विरोध सभालाई ठुलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले फोनबाट सम्बोधन गरेका थिए । त्यसै गरी वडा नं. १ का वडा अध्यक्ष बागबहादुर महतारा, वडा नं. २ का वडा अध्यक्ष देवि रोकाया, वडा नं. ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपाने, नेपाली कांग्रेसका धर्म बुढाले सम्बोधन गरेका थिए । कार्यक्रममा चमक डोल्पालीले नगर विवादको विषयमा गित समेत प्रस्तुत गरेका थिए । संघर्ष समितिका संयोजक हिक्मत शाहीको अध्यक्षतामा विरोध सभा सम्पन्न भएको थियो ।
चिसोका कारण सरकारी कामकाजमा समेत प्रभाव परेको छ
यो वर्षको भारि हिमपातका कारण अत्याधिक चिसोका कारण सरकारी कामकाजमा समेत निकै प्रभाव पारेको छ । सरकारी कार्यालयमा सेवाग्राहीहरुको उपस्थिति न्यून रहेको छ ।
चिसोले माथिल्लो डोल्पाका विभिन्न गाउंपालिकाहरुमा त झनै सरकारी काम ठप्प भएको छ । हिउं जमेकाले एक गाउंबाट अर्को गाउं जानै समस्या रहेको अवस्था भएकाले गाउंपालिकाको कार्यालयमा कोही पनि सेवा लिन नआएका कारण कुनै पनि काम नभएको छार्का ताङ्सोङ् गाउंपालिकाका अध्यक्ष सेनाङ गुरुङ्ले फोनबाट जानकारी दिए ।
चिसोका कारण माथिल्लो डोल्पाका सबै गाउंपालिकाहरुमा काम काज ठप्प रहेको पाइएको छ । शे फोक्सुण्डो गाउंपालिका, छार्का ताङसोङ गाउंपालिका र डोल्पोबुद्ध गाउंपालिकामा गाउंपालिकाको कार्यालय खोल्ने र बन्द गर्ने बाहेक अरु कुनै पनि काम हुन नसकेको एक कर्मचारीले जानकारी दिए ।
सरकारी कामकाज तथा सरकारी सेवा लिनका लागि चिसोका कारण सेवाग्राहीहरु नआएकाले सेवा प्रवाह कसिब शुन्य अवस्थामा छ भन्दा हुने शे फोक्सुण्डो गाउंपालिकाका अध्यक्ष टसिटुन्डुप गुरुङ्ले बताए । उनका अनुसार माथिल्लो डोल्पाका गाउंगाउंमा हिउ जमेर सेताम्मे छ । चिसोका कारण घाम लागेको बेला छतमा बसेर घाम ताप्ने र हावाचल्न थाले पछि घर भित्र बसेर आगो ताप्ने र थुप्पा तथा चिया खाएर समय बिताउने काम भएको छ । चिसोका कारण सरकारी काम त के घरायसी काम समेत हुन सेको छैन ।
माथिल्लो डोल्पाका स्थानीय तहका कार्यालयहरु ठप्प छन् भने मध्य तथा तल्लो डोल्पाका स्थानीय तहहरुमा समेत सेवाग्राहीहरुको उपस्थिति धेरै कम रहेको ठुलीभेरी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष देवि रोकायाले बताए । उनका अनुसार हिउंदमा चिसो हुने भएकाले जनताहरु सेवा लिन कमै आउने गर्दछन् ।
मध्ये डोल्पाका काइके गाउंपालिका, ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, तल्लो डोल्पाका जगदुल्ला गाउंपालिका र मुड्केचुला गाउंपालिका गरेर ५ स्थानीय तहहरुमा समेत चिसोले सेवा लिन आउनेहरुको संख्यामा निकै कमि आएको छ । ती स्थानीय तहहरुमा मात्र होइन सदरमुकामका सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीहरुको उपस्थिति न्यून रहेको कर्मचारीहरु बताउछन् ।
जिल्ला सदरमुकाम केन्द्रित तथा जिल्ला स्थित कार्यालयहरुमा समेत एकदमै कम सेवाग्राहीहरु आउने गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले थपे चिसोको कारण मात्र भन्दा पनि हिउंदको समयमा जनताहरु विभिन्न कामले तराई तथा प्रदेश सुर्खेत र संघ काठमाण्डौं केन्द्रित हुने गरेका कारण मानिसहरुको आवतजावत कम हुने भएकै कारण पनि सेवाग्राही कम भएको हुन सक्छ । तै पनि मानिसहरुको चहलपहल कम हुनु पनि चिसोले प्रभाव पारेको पक्कै हो ।










