प्रधानमन्त्री भन्छन्, ‘आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्छ’

सिरहा,प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने बताएका छन् । सहिद हेमनारायण यादवको १५औँ स्मृतिसभालाई सिरहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वृद्धवृद्धाको हितका लागि सरकार सकारात्मक रहेको बताए ।

देउवा नेतृत्वको सरकारले देशको ढुकुटी रित्तो पारेकाले अघिल्लो आर्थिक वर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको दाबी छ । ‘वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेरै दिन छैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘आउने आर्थिक वर्षमा सरकारले अवश्य बढाउनेछ ।

प्रधानमन्त्री ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताए । मधेसका विषयमा चलाइएका अतिरञ्चित हल्लाको जवाफ काम गरेर दिने प्रधानमन्त्रीले बताए । ‘मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् । तर, सरकारको कामले ती सबैको जवाफ दिन्छ,’ प्रधानमन्त्रीले भने, ‘हुलाकी सडकको निर्माण, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केही दिनअघि झापा विमानस्थलमा रात्रिकालीन उडान सेवा सुरु भएको छ । जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुँदै छ ।’

प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग, निजगढ विमानस्थल, कमला–मरिन डाइभर्सनबाट तराईलाई सिँचाइ गर्ने योजनाका काम धमाधम भइरहेको बताए । यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरूको स्तर वृद्धिका लागि धमाधम काम भइरहेको उनले बताए ।

तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशील रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यस जिल्लाबाट निरक्षरता उन्मूलन गर्नका लागि मैले नै पहलकदमी लिएको छु,’ उनले भने, ‘त्यसका लागि गत वैशाख ५ गते यसै जिल्लाका दुईजना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु ।’

०६० माघ १९ गते तत्कालीन नेकपा एमाले सिरहा जिल्लाका अध्यक्ष एवं सांसद हेमनारयण यादवको धनुषा र सिरहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो । त्यही दिनको सम्झनामा कार्यक्रम आयोजना गरिएको होप्रधानमन्त्री ओलीले शनिबारै नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला पार्टी कार्यालयको शिलान्यास गरेका छन् । शनिबार उनले चन्द्र माध्यमिक विद्यालय सिरहा नगरपालिका–१ मा छात्रावास भवनको पनि शिलान्यास गरे  ।





error: Content is protected !!