विकासका लागि आफैं डोजर चलाउन तयार छु मुख्यमन्त्री शाहीले

रासस
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि डोजर चलाउन पनि पछि नहट्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले आज वीरेन्द्रनगरमा आयोजना गरेको पन्ध्रौँ योजना आधारपत्रको प्रारम्भिक मस्यौदा कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्दै उनले श्रमप्रति सबैले सम्मान गर्नुपर्ने बताए ।

‘मुख्यमन्त्रीले पनि डोजर चलाउनुपर्छ’, उनले भने, ‘त्यो क्षमता नभए बेल्चा, कुटो कोदालो समाउन पनि पछि हट्नु हुँदैन ।’ मुख्यमन्त्री शाहीले कर्णालीका सबै जनप्रतिनिधिलाई हप्ताको एक दिन श्रममा लाग्न आग्रह गरे ।
उनले स्थानीय तहले साना, प्रदेशले मझौला र सङ्घीय सरकारले ठूला योजना निर्माण गर्ने बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिँदै किसानले उत्पादन गरेका उत्पादनलाई प्रदेश सरकारले बजारीकरणमा सहजीकरण गर्ने जानकारी गराए । मुख्यमन्त्री शाहीले राष्ट्रिय योजना आयोगसँग कर्णालीका लागि अर्बौं बजेट ऊनी र सुतीका लागि विनियोजन गर्न माग गरे ।





error: Content is protected !!