फोहोरले भरिए तिला र कर्णाली नदी

कालिकोट,पवित्र नदीका रुपमा चिनिएका तिला र कर्णाली नदीहरू फोहोर र दुर्गन्धित बन्दै गएका छन्। नदी छेउछाउ आसपासमा बस्ती विकास हुन थालेपछि तिला नदी र कर्णाली नदी फोहोर हुन थालेका हुन्। तिला नदी आसपासमा कालिकोटको नाग्मबजार सेरावाडा, बिहानी लगायतका क्षेत्रमा र कर्णाली नदीको जितेगडा, लालीघाट, भुराबगर लगायतका क्षेत्रमा बस्तीको विकास हुँदा फोहोेर हुन थालेका छन्। नाग्मबजार सेरावाडा, बिहानी बजार, जितेबजार, लालिघाट बजार र भुराबगर लगायतका बजारका रुपमा विकास भएपछि ती बस्तीहरूले शौचालय लगायतका अन्य फोहोर नदीमा फाल्ने गरेका छन्। नदीका किनारमा बजारको विकास हुनुका साथै ती बजारबाट निस्कने फोहोर नदीमा फाल्ने गरेको त्यही नदीको पानी आफै खाने गरेको कालिकोट नरहरिनाथ गाउँपालिका ३ का पुष्पराज भट्टराईले बताए।
‘नदी निकारमा बजारका रुपमा विकास भएका छन्। बजारका फोहोर पनि आफैँ नदीमा फाल्ने आफै त्यो पानी खाने गरेका छन्।’ उनले भने,‘बजारमा बस्ने बासिन्दा शौचालयको पानी सिधै नदीमा मिसाएपछि तिला र कर्णाली नदी प्रदूषित छन्।’ कर्णाली नदीमा मानवीय फोहोर प्रदूर्षणका कारणले माछाको संख्यामा कमी आएको पानीसम्बन्धी काम गर्ने गैरसरकारी संस्था दलित महिला संघका कालिकोट अध्यक्ष हजा सुनारले बताइन्। ‘नदीमा मानवीय प्रदूषणका कारणले माछाको संख्यामा पनि आएको छ।’
उनले भनिन्,‘मानविय फोहोरका कारणले नदीहरू प्रदूषित हुँदै गएका छन्।’ तिला र कर्णाली नदीलाई यहाँका अधिकांश मानिसले पवित्र जलका रुपमा लिने गरेको भएपछि पछिल्लो चरणमा नदीमा मानविय फोहोरका कारणले नदीको पानी पिउन उपयुक्त नभएको सरसफाई तथा खानेपानी उपभोक्ता महासंघका कालिकोटका अध्यक्ष चित्र सिंह गाउँलेले बताए। ‘तिला र कर्णाली नदीको पानीलाई पवित्र जलका रुपमा लिने गरिएको थियो।’ उनले भने,‘अहिले यी नदीहरू फोहोरले भरिएका छन्।’ थाहा साभार










