विप्लव नेतृत्वको नेकपाले सुर्खेतमा दुई ट्रक जलायो

सुर्खेत । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई ओटा गाडीमा आगजनी गरेको छ । शनिबार विहान नेपालगञ्जबाट खाद्यन्न बोकेर सुर्खेत आउँदै गरेको ना ६ ख ७३१३ नम्बरको ट्रक सत्तरीमा र नम्बर नखुलेको गाडी सुर्खेत पश्चिमको बड्डीचौरमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी गरेका दुवै ट्रक रहेको सुर्खेत प्रहरीले पुष्टी गरेको छ ।
ट्रकमा विप्लवका कार्यकर्ताले शनिवार विहान ४ बजेतिर आगजनी गरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरक चौलागाइँले जानकारी दिए । उनका अनुसार लामो दुरीका सवारी साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य पठाइरहेको छ ।
पौष २२ गते बिद्यार्थीहरुको जिल्ला सम्मेलनको तयारीको सिलसिलामा सुर्खेत जिल्लाबाट विप्लव नेकपका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्धामा गिरफ्तार गरेकोले तत्काल रिहाईको माग गर्दै शनिवार बन्दको घोषणा गरेको हो ।










